नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले २०७४ को एकता दुर्घटनामा पुर्याउने नेतृत्वले फेरि एकताको राग अलाप्नु हास्यास्पद भएको टिपप्णी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले त्यसबेला पार्टीलाई फुटबाट बचाउन र सरकार पाँच वर्ष टिकाउन प्रयास गर्दा उल्टै भ्रम फैलाएको पनि बताएका छन्।
‘२०७४ सालमा वामगठबन्धनले संघीय संसदमा दुईतिहाइ बहुमत हासिल गरेपछि आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमतिका आधारमा गरिएको पार्टी एकताले अन्ततः देश र कम्युनिस्ट आन्दोलन दुवैलाई दुर्घटनातर्फ पुर्यायो। आज त्यही नेतृत्वले फेरि कम्युनिस्ट एकताको राग अलाप्नु हास्यास्पद बनेको छ। त्यसबेला पार्टीलाई फुटबाट बचाउन र सरकार पाँच वर्ष टिकाउन प्रयास गर्दा उल्टै भ्रम फैलाइयो,’ उनले भनेका छन्।
अहिले पार्टी र जनताबाट अलगथलग परेकाहरू फेरि एकताका नाममा कार्यकर्ता र जनतालाई भ्रमित गर्न खोजिरहेको उनको भनाइ छ।
‘वास्तविक समाधान भनेको असफल नेतृत्वले आत्मालोचना र प्रायश्चितको भावसहित राजीनामा गर्नु तथा सबै पार्टीभित्रका सापेक्षिक क्रान्तिकारी शक्तिहरूले वृहद् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि अघि बढ्नु हो। कुबाटो होइन, क्रान्तिकारी एकताको मूलबाटो समातौं,’ उनले भनेका छन्।