प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरुमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।
प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरुमा घरेलु कामदारहरुलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरुले विभिन्न बाटो प्रयोग गरेर ती देशहरुमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराइन्।
'कहिले भारत हुँदै उनीहरुलाई बोर्डर क्रस गराइन्छ, कहिले तान्जानिया लगायतका अफ्रिकी मुलुकहरुमा ट्रान्जिट गराइन्छ। एजेण्ट जतातिर पनि नेपाली नै छन। त्यसैले यी मानव बेचविखनमा संलग्न एजेण्टहरु ध्वस्त हुन जरुरी छ। अहिले तस्करहरुले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरु बेच्ने काम गरिरहेका छन्,’ उनले भनिन्।
प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाइ गर्न नहुने उनले बताइन्।