सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दरपीठविरूद्धका निवेदन दर्ता गर्न आदेश दिए पनि दर्ता गर्ने अधिकारीहरू कुर्सी छाडेर हिँडेको भन्दै निवेदकहरूले गुनासो गरेका छन्।
निवेदक एवं अधिवक्ता प्रेमराज सिलवालले आफ्नो निवेदनमा कामु प्रधानन्यायाधीशको निर्देशन आएको थाहा पाए पछि दर्ता गर्न सम्बन्धित अधिकारीहरू समक्ष पुग्दा कुर्सीमा नभेटिएको बताएका छन्।
कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिससम्बन्धी परेका रिटको दरपीठ विरूद्धका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्।
‘प्रधानन्यायाधीश मल्ललाई भेट्यौं। उहाँले १ बजेभित्र दर्ता गर्न आदेश गरेँ भन्नुभयो तर आदेश अनुसार तल दर्ता गरिएको छैन। बुझ्न जाँदा पनि मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू मिटिङ भनेर तल-माथि गरिरहनुभएको छ,’ उनले भने।
उनकाअनुसार मुख्य रजिस्ट्रार पौडेल र मुद्दा महाशाखा हेर्ने रजिस्ट्रार मानबहादुर कार्की आफ्नो कार्यकक्षमा नभेटिएका हुन्।
यसरी पेस गरिएका निवेदन दर्ता नगर्दा आफूहरूलाई दु:ख परेको उनी बताउँछन्।
‘१ बजेसम्म गर्नु भनेर आदेश भए पनि गरिएको छैन,’ उनले भने, ‘दर्ता नगर्ने हो भने नगर्ने भनिदिए हुन्थ्यो। तर हामी दिनदिनै धाइरहेका छौं। दु:ख भएको छ।’
अर्की अधिवक्ता गीता थापा पनि आफ्नो निवेदन दर्ता भए/नभएको बुझ्न सर्वोच्च पुगेकी थिइन्।
प्रधानन्यायाधीशको आदेश भयो भनेपछि मुख्य रजिस्ट्रार र रजिस्ट्रार कहाँ जाँदा नभेटिएको उनको भनाइ छ। कामु प्रधानन्यायाधीशको सचिवालयका कर्मचारीका अनुसार आदेश बुझाउन जाँदा मुख्य रजिस्ट्रार कार्यकक्षमा भेटिएका थिएनन्।
‘मुख्य रजिस्ट्रारज्यू मिटिङमा जानुभएको थियो। तर बिरामी परेकाले आउनुभएको छैन भन्ने जबाफ पिएबाट पायौं,’ ती कर्मचारीले भने, ‘रजिस्ट्रार ज्यू पनि भेटिनुभएन, त्यसपछि रिट दर्ता गर्ने शाखालाई पनि आदेश दिएका छौं।’
त्यसपछि के गर्ने भन्नेबारे प्रधानन्यायाधीश सर्वोच्चका अन्य न्यायाधीशहरूसँग छलफलमा छन्।
नेपाल बार एशोसिएशनकै प्रतिनिधिहरू एवं अन्य वकिलले पनि मल्लसँग छलफल गरेकी छन्।