अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समय घर्किँदै गइरहेको भनेर इरानलाई चेतावनी दिएका छन्।
अमेरिकी अनलाइन एक्सियससँग टेलिफोन कुराकानी गर्दै यदि इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव लिएर आएनन् भने पहिलेभन्दा धेरै कडा प्रहार गर्ने धम्की दिएका छन्।
'समय घर्किँदै गइरहेको छ। उनीहरू चाँडो अघि बढेको राम्रो, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन,' ट्रम्पले भने।
ट्रम्पले इरानसँगको वार्ताका लागि कुनै निश्चित समयसीमा तोक्न भने अस्वीकार गरे।
'हामी सम्झौता गर्न चाहन्छौँ। तर उनीहरू (इरान) अहिले हामीले चाहेको ठाउँमा आइपुगेका छैनन्। उनीहरू त्यहाँ आउनै पर्छ, अन्यथा उनीहरूमाथि नराम्रो प्रहार हुनेछ, र उनीहरू त्यो चाहँदैनन्,' ट्रम्पले थपे।
इरानले लचकता नदेखाए ट्रम्पले सैन्य विकल्पबारे पनि सोच्न थालेका छन्। इरानमाथि आक्रमणको विषय पुनः बहसको केन्द्रमा आएको छ। ट्रम्पले आइतबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग इरानको परिस्थितिबारे कुराकानी गरेका थिए।
सैन्य विकल्पहरूमाथि छलफल गर्न ट्रम्पले मंगलबार आफ्नो शीर्ष राष्ट्रिय सुरक्षा टोलीको बैठक बोलाउने अपेक्षा गरिएको भनेर एक्सियसले जनाएको छ।
इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।
यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ।
फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो।
यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए। त्यसपछि अहिले हर्मुज ठप्प जस्तै भएको छ।
पहिल्यै हर्मुजबाट निस्किएका जहाजले बोकेको तेल अहिले आपूर्ति भइरहेको छ। तर अहिलेको स्थिति अझै लम्बिने हो भने तेलको संकट अझै चर्किने छ। तेलको भाउ अहिलेको भन्दा धेरै उच्च हुने प्रक्षेपण गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)