प्रदेश सरकारको नेतृत्व फेरबदलका लागि छलफलमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको कुराकानी कोशीको विषयमा पुगेर रोकिएको छ।
कोशीको मुख्यमन्त्री पदमा दुवै दलले दाबी नछाडेपछि थप कुरा अघि बढ्न नसकेको नेताहरूले बताएका छन्। यही छलफललाई अन्तिम रूप दिन कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ ओली निवास गुन्डुमा लामो छलफल भएको थियो।
दुई नेताबीचको कुराकानी कोशीमा पुगेर रोकिएको हो।
'कांग्रेस सभापति र हाम्रो अध्यक्षबीच आइतबार साँझ गुन्डुमा लामो छलफल भयो,' अध्यक्ष ओली निकट एक नेताले भने, 'अन्य प्रदेशहरूबारे लगभग कुरा मिलेकै छ। कोशीमा भने कांग्रेस र एमाले दुवैले दाबी गरेपछि कुरा अड्कियो।'
उनका अनुसार अध्यक्ष ओलीले आफ्नो गृह प्रदेश भएका कारण कोशीमा एमालेकै नेतृत्व चाहेको कुरा कांग्रेस सभापति थापालाई प्रस्ट भनेका छन्।
जबाफमा कांग्रेस सभापति थापाले पार्टीले प्रदेश सरकारहरूबारे निर्णय लिने सबै अधिकार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको र शर्माले त्यसअघि ओलीसँग राखेको प्रस्ताव नै कांग्रेसको बटमलाइन हुने बताएका थिए।
गत साता गुन्डुमै पुगेर उपसभापति शर्माले सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व सम्हाल्ने पूर्वसहमति अनुसार अघि बढनुपर्ने र कोशीको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव गरेका थिए।
सभापति थापाले ओलीसँगको भेटमा सोही कुरा दोहोर्याएका थिए।
सभापति थापासँगको भेटमा अध्यक्ष ओलीले प्रदेश सरकारहरूमा पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराउन सकिने कुरा राखेका छन्।
'एउटा प्रदेशको नेतृत्व नेकपालाई दिएर सहकार्य गर्न सकिन्छ,' ओलीले भनेका थिए।
एमाले नेताहरू विष्णु पौडेल र शंकर पोखरेल भने प्रदेश सरकारमा नेकपालाई सामेल गर्न तयार देखिएका छैनन्। एमाले निकट स्रोतका अनुसार अध्यक्ष ओलीले एक प्रदेश मुख्यमन्त्री नेकपालाई दिन कांग्रेससँग प्रस्ताव राखे पनि विप्णु र शंकरले 'कांग्रेस र एमाले दुई दलकै बहुमत पुग्ने अवस्थामा नेकपालाई किन नेतृत्व दिने' भन्ने कुरा उठाएका हुन्।
कांग्रेस नेताहरूका अनुसार अहिले एमालेभित्र आन्तरिक शक्ति संघर्ष पनि चलिरहेको देखिन्छ। त्यसको प्रभाव प्रदेशहरूमा मुख्यमन्त्री फेरबदल गर्ने निर्णय लिन नसक्नुले देखाउँछ।
कांग्रेसले बजेटअघि नै सरकारको नेतृत्व फेर्न प्रयास गरेको छ। एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल त्यो प्रस्तावमा पनि राजी बनेको तर ओली नमानिरहेको नेताहरूको दाबी छ।
कांग्रेसले प्रदेश सरकारहरूबारे सबै निर्णय लिन उपसभापति शर्मालाई जिम्मा दिएको थियो। कांग्रेस नेताहरूका अनुसार सबैजसो प्रदेशको कुरा मिलेको छ तर कोशीमा दुवैले दाबी छाडेका छैनन्।
कोशीमा अहिले एमाले सचिव हिक्मत कार्की नेतृत्वमा सरकार छ। चारवटा मन्त्रालय लिएर कांग्रेस पनि सरकारमा छ।
२०८१ भदौ २७ मा कार्की नेतृत्वको सरकारमा सामेल हुने बेला कांग्रेसले मुख्यमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव गरेको थियो। त्यस बेला कांग्रेस प्रस्ताव स्वीकार गर्दै एमालेले भद्र सहमति गरेको कांग्रेस नेताहरू बताउँछन्।
त्यही सहमति अनुसार कोशीको नेतृत्व कांग्रेसले पाउनुपर्ने प्रस्ताव उपसभापति शर्माले ओलीसँग राखेका थिए।
हाल मुलुकका ६ वटा प्रदेशमा कांग्रेस र एमालेबीच सत्ता साझेदारी छ भने मधेस प्रदेशमा माओवादी केन्द्रको समेत समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनले संघीय सरकार ढलेपछि फागुन २१ को निर्वाचनबाट रास्वपा नेतृत्वमा संघीय सरकार बनेको छ।
प्रदेशहरूमा भने अझै पुरानै निर्वाचनको म्यान्डेट अनुसार कांग्रेस–एमालेकै वर्चस्व छ।
कोशी, कर्णाली र लुम्बिनीमा एमाले नेतृत्वमा गठनबन्धन सरकार छ। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा अरू दलहरूसहितको सरकार छ।