दक्षिण बंगालको खाडीमा मनसुन विस्तारित भएको छ।
भारतीय द्विप अण्डमान तथा निकोबारमा १६–१७ मेमा प्रवेश भएको मनसुन विस्तारित भएको भारतीय जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
मौसमविद विनोद पोखरेलका अनुसार यही अनुपातमा विस्तारित भए नेपालमा दुई साताभित्रै मनसुन आइपुग्नेछ। यो भनेको सरदरभन्दा छिटो हो।
नेपालमा जेठ मसान्त अर्थात् जुन १३ मा मनसुन भित्रने गरेको छ। अघिल्लो वर्ष दुई साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो।
यसपटक प्रिमनसुनमा सरदरभन्दा बढी वर्षा भएको छ। हालसम्म २४९.३० मिलिमिटर वर्षा भइसकेको छ। यो भनेको १०८.९ प्रतिशत वर्षा हो।
हाल देशको मौसम प्रणालीमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेतको प्रभाव छ।
जसका कारण आज देशको पश्चिमी भाग गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत लगायतका जिल्लामा मध्यमसम्मको पानी परिरहेको विभागले जनाएको छ।
लमजुङको कुञ्चामा पछिल्लो २४ घन्टामा १०८.२ मिलिमिटर वर्षा भएको थियो।
पश्चिम नेपालको तापक्रम बढ्ने क्रम जारी रहेको विभागले जनाएको छ। विभागका अनुसार सोमबारे २ ठाउँमा ४० डिग्री कटेको थियो।
आज दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवामा तातो दिन रहने विभागले जनाएको छ।
दिपायलको अधिकतम तापक्रम आज ३७–३९, धनगढीको ४०–४१, वीरेन्द्रनगरको ३६–३८, नेपालगञ्जको ३९–४१, घोराहीको ३५–३७, भैरहवाको अधिकतम तापक्रम ३९–४१ डिग्री रहने अनुमान गरिएको छ।