शिक्षा मन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग छलफल गरेका छन्।
विश्वविद्यालयको कामकाज र योजनाबारे आज उनले छलफल गरेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलको उपस्थितिमा भएको संवाद कार्यक्रममा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएको सचिवालयको भनाइ छ।
त्रिविसहित विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ। उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ। अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ।
सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही बमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” ल्याइएको थियो।
सोही अनुरूप अहिले उपकुलपति छनोट प्रक्रिया अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ।