प्रतिनिधिसभाको बैठक बस्दै छ।
बुधबार बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले दुइटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।
मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए।
सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।