रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्।
मंगलबार बेइजिङ पुगेका पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार भेटवार्ता हुँदैछ।
राष्ट्रपति सीको निमन्त्रणामा मंगलबार बेइजिङ पुगेका पुटिन र सीबीच सन् २०२६ मा पहिलो प्रत्यक्ष भेटवार्ता हुन लागेको हो।
यो भ्रमण रूस–चीनबीचको ‘सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि’ को २५औँ वार्षिकोत्सव तथा २१औँ शताब्दीका लागि रणनीतिक साझेदारी स्थापना भएको ३० वर्ष पुगेको अवसरमा हुन लागेको हो।
पुटिन र सीको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दाबारे व्यापक संवाद हुने रूसी समाचार संस्था तासले जनाएको छ।
भ्रमणका क्रममा दुई देशबीच करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको पनि तासले जनाएको छ। तीमध्ये २१ वटा सम्झौतामा दुई राष्ट्रपतिका उपस्थितिमै हस्ताक्षर गरिने जनाइएको छ।
दुवै देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ थप सुदृढ गर्ने तथा मैत्रीपूर्ण सम्बन्ध गहिर्याउने विषयमा संयुक्त वक्तव्यसमेत जारी गर्ने तयारी गरेका छन्।
भ्रमणका क्रममा पुटिन र सीले सन् २०२६–२०२७ का लागि अन्तरसांस्कृतिक शिक्षा वर्षको शुभारम्भ गर्नेछन्। उनीहरूले रूस–चीन सम्बन्धको इतिहास झल्काउने संयुक्त समाचार प्रदर्शनीसमेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, पुटिनले सन् २००० मा बालक हुँदा बेइजिङ भ्रमणका क्रममा आफूलाई भेटेका चिनियाँ इन्जिनियर पेंग पाईसँग पनि भेट गर्ने कार्यक्रम छ। पेंगले उक्त भेटले आफूलाई रूसमा उच्च शिक्षा अध्ययन गर्न प्रेरित गरेको बताएका छन्। उनले सन् २००७ देखि २०१३ सम्म मस्कोस्थित सडक तथा अटोमोबाइल प्राविधिक विश्वविद्यालयमा अध्ययन गरेका थिए।
साँझ पुटिनले चिनियाँ प्रधानमन्त्री ली च्याङ सँग छुट्टै भेटवार्ता गर्नेछन्। त्यसपछि रूस–चीन रणनीतिक सहकार्यको ३० वर्ष तथा मैत्री सन्धिको २५ वर्ष पुगेको अवसरमा विशेष स्वागत समारोह आयोजना हुनेछ, जहाँ व्यवसाय, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
भ्रमणको अन्त्यमा पुटिन र सीबीच सीमित प्रतिनिधिमण्डलसहित भेटवार्ता हुने कार्यक्रम छ।