नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीमा विश्वासको संकट खडा भएको बताएका छन्।
उनले पार्टीको छवि नेतृत्वबाट झल्किने पनि बताए।
‘नेतृत्व छद्मभेषी र बेइमान भयो भने सारा जनताको सपना चकनाचुर हुन्छन् र जनताको टुटेको विश्वासले पार्टीको पुनर्जीवनका निम्ति गहिरो बाधा पुर्याउँछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेतृत्वको परीक्षण आम जनता र कार्यकर्ताले गरिरहेका छन्। कांग्रेसमा विश्वास संकट खडा भएको छ।’
उनले आपसी अविश्वास र दाउपेचले लक्ष्य नभेटिने पनि बताएका छन्।
‘त्यागको पुञ्जस्वरुप विश्वस्त र सिद्धान्तनिष्ठ नेतृत्त्वसहितकाे कांग्रेसका निम्ति म यस घडीमा हार्दिक अपिल गर्दछु। देशभरका कांग्रेस र कांग्रेस शुभचिन्तक साथीहरू ऐतिहासिक जिम्मवारीबोध गर्दै सिद्धान्तनिष्ठ चरित्रवान नेतृत्वका लागि पार्टी पुनर्निर्माणमा जुटौँ,’ उनले भने।
उनले जोखिम उठाउने साहस गरेर नै असल काममा प्रवृत्त हुने हो भनेका छन्।
‘जस्तो सुकै कठिनाइ सामना गर्ने हिम्मतका साथ काम गर्दा नै सुखद् परिणाम प्राप्त गर्न सकिन्छ,’ उनले भने।
पार्टीको पवित्र र कल्याणकारी सोचमा धेरै नै हदसम्म गिरावट आएको उनले दाबी गरेका छन्।