नेकपा एमालेका सांसद गुरू बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहारको शृंखला नै चलाएको बताएका छन्।
उनले सरकारले दिने भनेको न्यूनतम मासिक भत्ता पनि अपुग भएको बताए।
‘हिजो मात्रै नेपाल सरकारले एउटा गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको छ। सरकार बिनातयारी, भरपर्दो बसोबासको व्यवस्था नगरी आज सुकुम्बासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ। अनि सरकार भन्छ यो जेठ, असार र साउन तीन महिना तिमीहरूले १५–१५ हजार रुपैयाँ पाउनेछौं। अर्थात पाच जनाको परिवार हरेक परिवारलाई सदस्यलाई ३ हजार। अर्को अर्थमा भन्ने हो भने महिनाको १०० रुपैयाँले एक दिनको एक सय रुपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ?,’ उनले प्रश्न गरे।
यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला भएको उनको भनाइ छ।
‘अर्कोतर्फ सरकार भन्दैछ एकमुष्ट ५ हजार रुपैयाँ दिन्छु–अस्थायी बसोबासको लागि। अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए, त्यहीँ थियो। स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अस्थायी बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ,’ उनले भने।
होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढंगले विस्थापितहरू बाचिरहेको उनले बताए। सुत्तेरी महिलाको कुपोषणको सिकार भएको उनले बताए।
‘युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ, बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन्। उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्त अप्ठ्यारोमा छन्। महिला पुरूष अलग अलग ठाउँमा राखिएको छ। परिवार एकै ठाउँमा बस्नुपर्ने प्रबन्ध समेत गरेको छैन,’ उनले भने।
यसरी अव्यवस्थित ढंगले होल्डिङ सेन्टरमा राखेको कुरा अत्यन्त अमानवीय भएको पनि उनले बताए।
‘सरकारले त्यसमाथि यो १५ हजारको जीविकाको कुरा तिन महिनासम्म र अस्थायी बसोबासको लागि दिएको कुरा गलत छ यो चिज तुरून्त सच्याओस्। यस खालको काम गरेर अब सुकुम्बासीको समस्या समाधान हुँदैन आन्दोलनतर्फ सरकारले धकेल्दै छ। यसतर्फ गम्भीर बनोस्,’ उनले भने।