सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका केही दिन यता निरन्तर पर्चा देखाएर विरोध जनाउँदै आएको छ।
बुधबार पनि श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चा दखाउँदै सरकारलाई संसदप्रति जवाफदेही तुल्याउन सभामुखसँग माग गरेका थिए। दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले नियमावलीको नियम १५ को २ बमोजिम आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको सात दिन भित्र सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका थिए।
श्रम संस्कृति पार्टीका सांसदहरुले बैठक सुरू भएलगत्तै आफूले ल्याएको पर्चा सुरुआतमा सभामुखलाई देखाएका थिए। लगत्तै उनीहरुले पर्चामा लेखिएको विषय पढेर सुनाएका थिए।
दल नेता साम्पाङले 'संसदीय सर्वोच्चता कायम गर, सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ, विधिको शासन लागू गर र प्रतिपक्षीको आवाज दबाउन पाइँदैन' भनेर लेखिएको पर्चामा भएको नारा पढेर सुनाएका थिए।
सोही पार्टीका अन्य सांसदहरुले 'संसदीय सुनुवाइ समितिमा सहभागी गराउन, संसदीय विभेद बन्द गर्न र प्रतिपक्षीको संसद भएको स्थापित गर्न माग गरेका थिए। श्रम संस्कृति पार्टीका सांसदहरुले बोल्न समय बढाउन, सुकुमबासीलाई बाँच्न दे, गरिब मार्न पाँइदैन, सहकारी पीडितलाई न्याय दे, विदेशी ऋण बन्द गर, सरकार जवाफदेही बन्नुपर्छ, संसदीय कर्तव्य पूरा लगायतका नारा लेखिएको पर्चा पढेर सुनाएका थिए।
श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा उठेको प्रश्नको जबाफ दिन नआएको विरोधमा बैठक बहिष्कार गरेका थिए। त्यस लगत्तै उनीहरुले रोष्टम अगाडि पुगेर पनि सभामुखलाई पर्चा देखाएका थिए।
श्रम संस्कृति पार्टीका सांसदहरुले लगातार संसदमा पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठकबाट बाहिर निकाल्ने चेतावनी दिएका हुन्।
'हर्कराजराई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादा विपरीत प्लाकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकाले म माननीय सदस्यहरुलाई प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलपा तथा व्यवहार सच्याउन चेतावनी दिन्छु', सभामुख अर्यालले रुलिङ गरेका हुन्।
रास्वपा सांसदहरुले उक्त रुलिङको टेबल ठोकेर समर्थन गरेका थिए।
प्रतिनिधि सभा नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले आफ्नो व्यवहार नियन्त्रण गर्न चेतावनी दिन सक्ने व्यवस्था छ। यस्तो चेतावनी पाएको सदस्यले तुरुन्त आफ्नो व्यवहार नियन्त्रण गर्नुपर्ने नियमावलीको व्यवस्था छ। २०७९ सालको निर्वाचनपछि तत्कालिन सभामुख देवराज घिमिरेले संसदको बैठकमा कपडा उतारेका सांसद अमरेश कुमार सिंहलाई यस्तो चेतावनी दिएका थिए।
प्रतिनिधि सभा नियमावलीको नियम ३० को चेतावनी बमोजिमको आदेश पालना नगर्ने सांसदलाई सभामुखले बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ।
'नियम ३० बमोजिमको आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ', प्रतिनिधि सभा नियमावलीको नियम ३१ मा भनिएको छ, 'आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्नेछ। निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।'
यदी सभामुखको आदेशले कुनै सदस्य बाहिर जान अटेर गरेमा सभामुखले त्यस्तो व्यक्तिलाई मर्यादापालक (दौरा सुरुवाल लगाएका प्रहरी)को सहयोगमा बाहिर निकाल्न सक्नेछ। मर्यादापालक प्रयोग गरेर बाहिर निकालिएका सांसदले तीन दिनसम्म संसद र संसदीय समितिको बैठकमा भाग लिन पाउने छैनन्।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले भने आफूहरुले संसदमा पर्चा देखाउने कार्य निरन्तर रुपमा गर्ने बताएका छन्।
'यो सरकार सदनप्रति जवाफदेही नभएको हामीले महसुस गरेका छौँ। प्रधानमन्त्री र मन्त्रीहरु यही सदनका सदस्य हुन्। रुलिङ गरेर ल्याउनुपर्छ', राईले बैठकमा भने, 'यो माग पूरा नभएसम्म हामी सँधै पर्चा देखाइरहन्छौँ। आन्दोलन गरिरहन्छौँ। तोडफोड र आगजनी गरेको छैन। यो तरिकाको विरोध भइरहन्छ।'
दलका नेता साम्पाङले भने सभामुखले आफूहरुलाई दिएको चेतावनीको रुलिङ जस्तै प्रतिनिधि सभा नियमावलीको नियम १५ को २ पालना गराउन सभामुखलाई चुनौती दएका छन्। उक्त नियमले सांसदहरुले उठाएका प्रश्नमा एक साता भित्र मन्त्रीहरुले जवाफ दिनुपर्ने व्यवस्था छ।
'हामीले व्यक्तिगत नभएर जनताको प्रश्न सोध्न चाहेका छौँ', राईले भने, 'सिमानादेखि महंगी नियन्त्रण, सहरकारी पीडितलाई पैसा फिर्ताको स्रोतदेखि थुप्रै प्रश्न राख्न खोजेका छौँ', साम्पाङले भने, 'सम्बन्धित मन्त्री पनि नआउने, नीति तथा कार्यक्रममा पनि नआउने। छलफलमा पनि नआउने। उत्तर दिन पनि आउनुपर्नेमा नआउने। अरु मान्छे आउने। नियमावलीको नियम १५ को २ लागू भएको देखिदैँन।'
सभामुख अर्यालले भने संसदको विभिन्न समयमा उठेको प्रश्नमा मन्त्रीहरुले आजैबाट जबाफ दिन लागेको भन्दै साम्पाङलाई विश्वस्त बनाउन खोजेका थिए।
नेता साम्पाङले संसदप्रति अहिलेको सरकार जबाफदेही बन्नुपर्ने बताए।
'जनताको प्रश्न राख्ने सदन हो। त्यो सदनमा सरकार नआउनुले के जनाउँछ', राईले भने, 'यहाँले कडा तरिकाले रुलिङ गरेर मन्त्रीहरुलाई र सरकारलाई प्रश्नोत्तर गर्ने व्यवस्था मिलाउनुपर्यो।। ५ –६ वटा प्रश्न सोध्न चाहान्छौँ। प्रश्नको उत्तर जनतालाई दिनुपर्ने बाध्यता र कर्तव्य हो। त्यसबाट भाग्ने चलनप्रति घोर आपत्ति छ।'