फागुन २१ को निर्वाचनअघि विभिन्न समूहबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएकाहरूले आसन्न महाधिवेशन सहमतिमा टुंग्याउनुपर्ने बताएका छन्।
चुनावपूर्व प्रधानमन्त्री बालेन शाहको समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थारूहट, थारूवान आन्दोलनका अगुवा र जेनजी अभियानी समेत रास्वपामा मिसिएका थिए।
यी समायोजन पक्षधरहरूले चुनावमा यथोचित प्रतिनिधित्व गराइएको र अहिले संसदमा पनि उपस्थिति रहेको भन्दै त्यस अनुरूप पार्टी महाधिवेशनमा पनि सहभागी गराउन माग गरेका हुन्।
पार्टी महामन्त्री भूपदेव शाहले समायोजनबाट आएकाहरूले सहमतिमै महाधिवेशन होस् भन्ने चाहेको बताए।
'राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री बालेन शाहको समूह, थरूहट, थारूवान, खगेन्द्र सुनार नेतृत्वको दल, विवकेशील साझा पार्टी, जेनजी अभियानीहरू पनि जोडिनुभएको छ। हामीले सबैको प्रतिनिधित्व हुने गरी उम्मेदवारी टुंग्याएका थियौं। संसदमा पनि त्यही अनुरूप प्रतिनिधित्व छ,' उनले भने, 'पार्टीको पहिलो र समायोजनको पनि महाधिवेशन भएकाले सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहना एकतामा आएकाहरूको देखिनु स्वाभाविक नै हो।'
गत वैशाख ३० गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले भूपदेव शाहको नेतृत्वमा समायोजन समिति बनाएको थियो। समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णुपुकार श्रेष्ठ, रामकृष्ण भट्टराई छन्।
उनीहरूले समायोजनको प्रारूपमाथि काम गरिरहेका छन्। महाधिवेशनमा सबैको उपस्थिति र प्रतिनिधित्व गराइने शाहले जानकारी दिए।
समायोजको मर्म र भावना अनुरूप अहिले तहगत समितिहरूमा पनि एकता, समायोजनको काम भइरहेको शाहको भनाइ छ।
'अहिले वडाहरूको भेला तथा अधिवेशन भइरहेको छ। समायोजनबाट आउनुभएsf साथीहरूको तल प्रतिनिधित्व होस्, कोही प्रतिनिधि हुनुहुन्छ भनेर सम्बन्धित कमिटीहरूले जानकारी गराइरहनुभएको छ। कतिपय साथीहरूले सदस्यता लिएर अधिवेशनमा सहभागी पनि भइरहनुभएको छ। माथिल्ला तहका समितिहरूमा समायोजनको के विधि हुनसक्छ, त्यसको खाका के हुनसक्छ भनेर हामी छलफलमै छौं,' उनले भने।
केन्द्रीय समितिले उनीहरूलाई १० गतेभित्र समायोजनको मोडालिटी तय गरेर बुझाउन भनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन प्रस्ताव तयार पार्दा सबै तहका समितिको प्रतिनिधित्व गराउने भएको छ। गत केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो।
कार्यदलमा गणेश पराजुली, चन्दा कार्की, प्रकाशचन्द्र परियार, सुशान्त बैदिक सदस्य छन्।
कार्यदलले विधान संशोधनबारे तहगत समितिबाट राय–सुझाव मागेको सहमहामन्त्री आचार्यले बताए।
'हामीले विधानमा के–के संशोधन गर्दा उपयुक्त हुन्छ भनेर प्रदेश समिति, प्रदेश समितिमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका समितिबाट पनि सुझाव मागेका थियौं। उहाँहरूलाई ५ गतेसम्म सुझाव पठाउन भनिएको थियो। तलबाट आएका सुझावका आधारमा छलफल गरेर संशोधन प्रस्ताव तयार पार्छौं,' उनले भने।
उनले जेठ १० गतेभित्र विधान संशोधन प्रस्ताव बुझाइने जानकारी दिए।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रारूप तयार पारिरहेको एक सदस्यले बताए। ती सदस्यका अनुसार अहिले निर्वाचन आयोगमा प्रमुख पद रिक्त छ। उपप्रमुख राम गुरूङको नेतृत्वमा निर्वाचन मोडालिटी, केन्द्रीय कमिटीमा कसरी प्रतिनिधित्व गराउने, निर्वाचनको विधि के हुने लगायत विषयमा छलफल भइरहेको छ।
निर्वाचन आयोगमा भुवन केसी, कुमार आनन्द, नारायण प्याकुरेल सदस्य छन्।
'हामीले ५० प्रतिशत खुला, ५० प्रतिशत समावेशी हुनुपर्ने गरी छलफल गरिरहेका छौं। प्रत्येक प्रदेशबाट ५–५ जनाको प्रतिनिधित्व गराउने (यद्यपि यो विधानमै व्यवस्था छ) तर त्यसको आधार के हुने भन्नेबारे पनि छलफलमै छौं। टुंगो लागिसकेको छैन,' ती सदस्यले भने।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सांसद, केन्द्रीय संघीय परिषद् सदस्य, विभागीय प्रमुख र पदाधिकारीलाई निर्वाचनकेन्द्रित जिम्मेवारी तोकेको छ। हिजै सूची सार्वजनिक गरिए पनि त्यसमा संशोधन गर्नुपर्ने भएकाले आज जिम्मेवारी हेरफेर गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार रास्वपाले महाधिवेशनको तयारीका लागि १४ वटा उपसमिति बनाउने तयारी गरेको छ। अनौपचारिक छलफलको माध्यमबाट आज त्यसलाई अन्तिमरूप दिइने महामन्त्री बुर्लाकोटीले बताए।
यसअघि तीनपटक मिति सारिएको महाधिवेशन असारको ७, ८, ९ गते चितवनमा हुने तय भएको छ। पहिलो महाधिवेशन हुने निश्चित भएपछि पदाधिकारी र केन्द्रीय समिति सदस्यमा आकांक्षा राख्नेहरू देखिन थालेका छन्।
यद्यपि नेताहरूले यसपटक सहमति नै नेतृत्व टुंगिने दाबी गरेका छन्।
महामन्त्री कविन्द्र बुर्लाकोटीले नेतृत्व चयनको विषयमा महाधिवेशन प्रवेश गरिनसकेको बताए।
'हामी अहिले वडा, पालिका, जिल्ला समिति र प्रदेशको अधिवेशनको कार्यतालिकामा छौं। प्रदेशको अधिवेशन सकिँदै जाँदा केन्द्रीय महाधिवेशनको नेतृत्व चयनको प्रश्न आउला,' उनले भने।
रास्वपाको केन्द्रीय समिति १२९ सदस्य हुने विधानमा व्यवस्था छ। मौजुदा विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य महाधिवेशन हलबाट निर्वाचित हुनेछन्। सभापतिलाई २२ जना मनोनीत गर्ने अधिकार दिइएको छ। सात प्रदेश सभापति पदेन सदस्य हुनेछन्। एक तिहाई महिलाको प्रतिनिधित्व रहने व्यवस्था छ।
एक पटक केन्द्रीय सदस्य भइसकेकाले सभापतिमा उम्मेदवारी दिनसक्ने छ। तर पार्टी सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने छ।
विधान अनुसार रास्वपाको महाधिवेशन दुई चरणमा हुनेछ।
पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्यबाट पदाधिकारी निर्वाचित गरिने छ।
उनीहरूको मतदाता पनि महाधिवेशनका प्रतिनिधि नै हुनेछन्।
सभापतिको निर्वाचनको अन्तिम चरणमा १० प्रतिशत मत कटाएको उम्मेदवार स्वतः केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
हाल रास्वपामा एक सभापति, एक वरिष्ठ नेता (मानार्थ), दुई उपसभापतिमध्ये एक रिक्त, दुई महामन्त्री, तीनमध्ये एक सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता, दुई सहप्रवक्ता छन्।