नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ।
एमालेको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका छन्।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।
सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्ताबाट फिर्ता भइसकेको नेताहरूले बताएका छन्।
यद्यपि एमालेले अब त्यो जग्गा नलिने र बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको हो। बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकमा प्रस्तावित छ।
सर्वोच्च अदालतको फैसलापछि बल्खुमा कार्यालय भवन बनाउन बाधा नहुने निष्कर्ष पनि एमालेको छ।
२०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ। सुरूआतमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भाडामा बसे पनि विवाद भएपछि त्यहाँबाट हटेको थियो। चक्रपथ विस्तारका कारण भवनको केही भाग भत्कने भन्दै प्रतिष्ठानले सर्न भनेको थियो। त्यसपछि एमाले थापाथली हाइटमा रहेको एक व्यवसायीको घरमा भाडामा बसेको थियो।
त्यहाँबाट २०७९ सालमा सर्दै च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भाडामा बस्न पुगेको थियो। भोगाधिकार लिजमा परिणत नगरेकाले सरकारले प्रतिष्ठानलाई घर खाली गर्न भनिसकेको छ।