राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा पार्टीको धारणा माग गरेकी छन्।
आज रास्वपा कोशी प्रदेशका सांसदहरूसँग सभापति रवि लामिछानेले गरेको छलफलमा सहभागी रहेकी सांसद मगरले काठमाडौंको सुकुम्बासी व्यवस्थापनबाट उपत्यका बाहिरका सुकुम्बासी तरंगित भएको भन्दै पार्टीको धारणा मागेकी हुन्।
‘उहाँले काठमाडौंको सुकुम्बासी व्यवस्थापनबाट जिल्ला जिल्लाका सुकुम्बासीहरू तरंगित भएको, सांसदहरूसँग जबाफ माग गरिरहेको भन्दै सभापति रवि लामिछानेसँग पार्टीकै धारणा माग गर्नुभयो,’ बैठकमा सहभागी एक सांसदले भनिन्।
उनी झापा २ बाट निर्वाचित सांसद हुन्। उनको क्षेत्रमा पनि सुकुम्बासीहरू छन्।
उनी निर्वाचन क्षेत्रमा जाँदा सुकुम्बासीहरूले गुनासो गर्ने भएकोले पार्टीले धारणा सार्वजनिक गरे सोहीअनुसार आफूहरूले जबाफ दिन सहज हुने कुरा पनि सभापति लामिछानेसँगको छलफलका क्रममा बताएकी थिइन्।
सभापति लामिछानेले भने यस विषयमा ठोस जबाफ दिएका थिएनन्। बरू उनले पार्टीको मोबाइल एपमार्फत् सांसदहरूसँग अन्तर्क्रिया गर्ने प्रणालीको विकास भइरहेको बताएका थिए।