प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदसहित प्रतिपक्षी सांसदहरूले बैठक बहिष्कार गरेका छन्।
शुक्रबार बनेपास्थित विस्थापित सुकुम्बासीहरूको बसोबास केन्द्र अनुगमनमा देखिएका विषयबारे पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यक्रममा समितिले पत्रकारहरूलाई निषेध गरेको हो।
यसरी निषेध गरेपछि सत्तारूढ रास्वपाकै सांसद अमरेशकुमार सिंहले बैठक छाडेर हिँडेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई, नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले पनि बैठक छाडेका छन्।
कांग्रेस सांसद राईले पत्रकारलाई निषेध गरी बैठक चलाउन नसकिने र आफूहरूको समर्थन नरहेको बताएका थिए।
'प्रेसलाई बाहिर राखेर बैठक बस्दैनौं, संसदीय समिति खुला नगरी बैठक चलाउन खोज्नुभएको हो भने हाम्रो समर्थन छैन। यसैगरी बैठक चलाउने हो भने अर्को बैठकमा सहभागी हुँदैनौं,' सभापति ढकाललाई भनेको कुरा उद्धृत गर्दै राईले भने।
त्यस्तै, नेकपा एमालेका मोहम्मद इश्तियाक राईले पनि प्रेसलाई निषेध गरेकै कारण बेठक छाडेको बताए।
उक्त बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यतालिका थियो। त्यहाँ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत सहभागी छन्।
संसदीय समिति बैठकहरूमा यसअघि पत्रकारलाई निषेध गरिएको थिएन।
संसदीय मामिला पत्रकार समाजका अध्यक्षसमेत रहेका सेतोपाटी संवाददाता मनोज सत्यालका अनुसार रिपोर्टिङका लागि पुगेका पत्रकारलाई एकछिन फोटो/भिडिओ फुटेज खिचेपछि सभापति हरि ढकालले निस्किन भनेका हुन्।
'गेटमा बसेका मर्यादापालकलाई पनि सोध्यौं। पत्रकारलाई प्रवेश नदिन भनेर सभापतिको निर्देशन छ भन्ने कुरा आयो,' उनले भने।
आफूले यसबारे समाजको तर्फबाट सभापति ढकाललाई मेसेज गरी असहमति समेत प्रकट गरेको उनले बताए।
समितिका सांसदहरूले कीर्तिपुर र बनेपास्थित सुकुम्बासीहरूका लागि राखिएको होल्डिङ सेन्टरको अनुगमन गरेका थिए। यही विषयमा छलफल गर्न बैठक डाकिएको थियो।
'लोकतान्त्रिक व्यवस्थामा मिडियालाई 'वाचडग' चौथो अंगको रूपमा लिइन्छ । मिडियाले हामीलाई नागरिकप्रति उत्तरदायी बनाउन भुमिका खेल्छ', बैठकपछि कांग्रेस प्रमुख सचेतक राईले भने, 'आफूले जिताएर पठाएको मेरो प्रतिनिधिले के गरिरहेको छ' भनेर नागरिकले थाहा पाउने माध्यामनै मिडिया हो । तर, आजको राज्य व्यवस्था तथा सुशासन समितिमा मिडियालाई बाहिर राख्ने र बन्द कोठामा समिति बैठक राख्ने कार्य गलत छ । मैले समिति बैठकमै असहमति प्रकट गरेर हिडेको छु ।'
कांग्रेसले मिडियालाई खेदेर हुने छलफलमा सहभागी नुहने जनाएको छ।
'समिति र यसका बैठक जति खुल्ला हुन्छ - त्यहाँ हुने बहस र छलफल त्यतिनै नागरिकमैत्री र जनउत्तरदायि हुन्छ', राईले भने, 'मिडियालाई खेदेर हैन सँगै राखेर छलफल गरिनुपर्छ । सदनको बैठक लाइभ भएजस्तै मिनि संसद्को बैठक पनि लाइभ गराउँदा फरक पर्दैन । त्यसैले आगामी दिनमा पनि बन्द कोठामा समिति बैठक चलाइन्छ भने- नेपाली कांग्रेसले त्यी कुनै पनि बैठकमा भाग लिने छैन।'
राज्य व्यवस्था एवं सुशासन समितिका सभापतिलाई सेतोपाटीले संसदीय समितिको बैठक किन गोप्य गर्न लाग्नु भएको भनेर प्रश्न सोधेको छ। तर ढकालले कुनै जवाफ दिएका छैनन्।