क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय अटेर गरेपछि नेपाली कांग्रेसले ५० जना वडा सभापतिलाई 'जिम्मेवारीविहीन' बनाएको छ।
ती वडा सभापतिको पद कायमै राखेर कांग्रेसले क्रियाशील अद्यावधिक प्रयोजनका लागि मात्रै वडा समितिकै अर्को व्यक्तिलाई जिम्मेवारी दिएको हो।
कांग्रेसले जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न मातहत समितिलाई परिपत्र गरेको थियो।
तर ५० वडामा यो काम सुरू नभएको पाइएपछि कांग्रेसले यस्तो कदम चालेको छ।
‘पार्टीले निर्णय गरे पनि म मान्दिनँ, जिम्मेवारी लिन्न भन्ने हो भने विधानले मलाई जिम्मेवारी दिएको छ- म नयाँ साथीलाई जिम्मेवारी दिन्छु, सो अनुसार मैले हिजो मात्रै निर्णय गरेँ, ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु,’ सभापति गगन थापाले भने, ‘क्रियाशील अद्यावधिक अघि नबढाए पनि उहाँहरू वडा सभापति नै हुनुहुन्छ, पद केही भएको छैन। तर क्रियाशील अद्यावधिक गर्ने जिम्मेवारी मैले वडा कार्यसमितिकै अर्को साथीलाई दिइसकेँ।’
२०७८ मा भएको १४ औं अधिवेशनबाट आएका कुन-कुन वडा सभापतिलाई क्रियाशील अद्यावधिक कार्यबाट जिम्मेवारीमुक्त गरेको हो भन्ने कांग्रेसले सार्वजनिक गरिसकेको छैन।
सभापति थापाले विधानको सबै धाराहरू पढ्न पनि नेताहरूलाई आग्रह गरेका छन्।
‘कुनै साथी क्षेत्रीय सभापति हुनुहुन्छ र सोही कारणले गर्दा नयाँ क्रियाशीलको काम मैले गर्ने हो भनेर विधानको धारा पढ्नुभयो भने विधानको अर्को धारा पनि सँगै पढ्नुहोला- त्यसमा के लेखेको छ भने क्रियाशील सदस्यतासम्बन्धी काममा अवरोध गरेमा सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिनेछ भन्ने कुरा लेखिएको छ, मैले त्यही गरेको हुँ,’ उनले भने।
विधानअनुसार प्रत्येक क्रियाशील सदस्यतले प्रत्येक वर्ष अनिवार्य रूपमा वडा कार्यसमितिमा पुगेर कागजपत्रसहित वडा सभापति भेटेर फारम भर्दै दुई सय रुपैयाँ शुल्क बुझाएपछि मात्र नवीकरण हुने व्यवस्था रहेको सभापति थापाले बताए।
‘विधानमा यो लेख्ने मानिस को? सबैभन्दा पहिले कृष्णप्रसाद सिटौला, त्यसपछि पूर्णबहादुर खड्का। त्यही विधान अहिले जस्ताको तस्तै छ, तर अधिवेशनअघि आएर हामी विधानको यो धारा निलम्बन गर्ने गर्थ्यौं, कतिपयले अहिले नवीकरण गर्दिनँ भन्नुभएको छ, त्यसका लागि पनि विधानको धारा निलम्बनको निर्णय गर्नुपर्छ, किनभने अहिलेसम्म २०८२ सालसम्मको मात्रै नवीकरण भएको छ, अद्यावधिक गर्दिनँ भन्नुभएको छ, नवीकरण गर्नुपर्दैन? १५ औं महाधिवेशनका लागि २०८२ मा नवीकरण गरेर हुन्छ? विधानको व्यवस्था कोही साथीहरूले बुझाउनुभएको छैन,’ सभापति थापाले भने।
सभापति थापाका अनुसार सधैं विधानको धारा निलम्बन गरिराख्नु पर्ने भएपछि यसपालि फरक तवरले नवीकरण गर्न खोजियो र अद्यावधिक भन्ने शब्द प्रयोग गरिएको हो।
‘नवीकरण भन्नुपर्ने रहेछ, किन अद्यावधिक भनिएछ भन्ने लागेको छ, अस्ती शेखर दाइलाई भेटेर आएँ, अद्यावधिक नभनेर नवीकरण नै भनिदिनुपर्ने रहेछ, शब्द चयन गलत भएछ, नवीकरण गर्दा यो यो तथ्यांक बुझाउनुपर्छ भनिदिनुपर्ने रहेछ, बढी जान्ने भएर अद्यावधिक भनियो, अनि कहाँबाट ल्याए केटाहरूले भनेर रोक्न लागेका छन् नेताहरू। नवीकरण नै जस्ताको तस्तै अद्यावधिकमा गर्ने हो,’ उनले भने।
क्रियाशील अद्यावधिक गर्दा पार्टी सदस्यहरूको विवरण प्राप्त हुने सभापति थापा बताउँछन्।
‘८ लाख क्रियाशील छन् तर ८० हजार साथीहरूको मात्र तथ्यांक छ, तथ्यांक भनेको नाम होइन, तपाईंलाई चिन्ने कुरा फोन नम्बरसँग जोडिएको छ, एकै नाम धेरै जनाको हुन्छ। मसँग अहिले ८ लाख क्रियाशीलको नम्बर हुने हो भने म दोहोरो संवाद गर्न सक्छु, त्यो प्रणाली हामीले बनाउन लगाइसकेको छ,’ उनले भने, ‘यसका लागि क्रियाशील सदस्यको मोबाइल नम्बर चाहिन्छ, त्यसका लागि अद्यावधिक गर्नुपर्छ।’
क्रियाशील अद्यावधिक गर्न पार्टी वडा कार्यालय वा सभापतिलाई भेट्ने/टेलिफोन गर्ने, त्यो गर्न सम्भव नभए मोबाइलबाट कांग्रेसको वेबसाइट खोल्ने २ मिनेटमा फारम भर्ने नभए एप वा पार्टीको नम्बरमा फोन गर्न उनले आग्रह गरेका छन्।
‘कांग्रेसको क्रियाशील सदस्यसँग जम्मा २ मिनेट समय मागिरहेको छु, अद्यावधिक गर्न। यो गर्दैगर्दा नेताहरूले अद्यावधिक गर्लास् भनेर लाइन लागेको देख्छु, भगवान् कसम म छक्क परेको छु, अरू कुरामा मलाई भन्नुस्, अद्यावधिक किन नगर्ने? नगर्न बैठक किन बस्ने?,’ उनको प्रश्न छ, ‘वडा र क्षेत्रीय सभापतिको जिम्मेवारी बढाउने हो, कुरा नबुझेको हो भने बुझाउँछु साथीहरू हो, तर म अद्यावधिक गर्दिनँ भन्नुहुन्छ भने मलाई क्षमा गर्नुहोला, अरू सबै कुरा मान्छु मैले,तर पार्टीको निर्णय मान्दिनँ भन्नुहुन्छ भने विधानअनुसार नयाँ साथीलाई जिम्मेवारी दिन्छु।’
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यसका लागि क्रियाशील सदस्यता अद्यावधिक कार्य धमाधम अघि बढाएको हो।