सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्थायी प्रहरी चौकी भवन निर्माणमा भएको अवरोध समाधानका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलसँग छलफल गरेका छन्।
मुख्यमन्त्री शाहले टेलिफोनमार्फत कर्णाली मुख्यमन्त्री कँडेलसँग छलफल गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही अनुसार हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको हुँदा प्रहरी चौकी निर्माणको पक्षमा वातावरण बनाउन मुख्यमन्त्री शाहीले कर्णालीका मुख्यमन्त्री कडेललाई आग्रह गरेका थिए।
घटनामा संलग्न दोषी व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा दुई मुख्यमन्त्रीका बीचमा कुरा भएको थियो ।
यसअघि मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले घटनाप्रती खेद प्रकट गरेको थियो ।
त्यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउन पत्र लेखेका थिए ।
मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई पठाएको पत्रमा दुई जिल्लाका बीच उत्पन्न सीमा विवादका कारण स्थानीय नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको हुँदा समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए ।
मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि संघीय सरकारले तत्काल आवश्यक पहल गर्न प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएका थिए ।
दुई जिल्लाका स्थानीय बीचको बिबाद उत्कर्षमा पुगी आपसमा कुटाकुट हुनुका साथै प्रहरी चौकी निर्माणार्थ लगिएका निर्माण सामाग्री समेत हुम्लाका स्थानीयले फालिदिएका थिए । हुम्लाका स्थानीयको आक्रमण बाट कर्मचारी, प्रहरी र जनप्रतिनिधिसहित ६ जना घाइते भएका थिए ।
दोषी माथि कारबाहीको माग गर्दै बाजुराका स्थानीयले कर्णारी करिडोर सडक खण्ड बन्द गराउँदै आएका थिए। शुक्रबारको सर्वपक्षिय बैठकले ६ बुँदे सम्झदारी गरेपछि दिउँसोदेखि सडक खण्ड खुलेको थियो ।