नेकपा एमालेका सचिव महेश बस्नेतले सचिवालय बैठकमा आफूले बोलेका कुराको प्रस्टीकरण दिएका छन्।
उनले अध्यक्ष केपी शर्मा ओली हिरासत र बिरामी रहेको अवस्थामा नेतृत्व फेर्ने कुरा गर्नु आपराधिक मानसिकता भएको भनेर आफूले भनेको कुरालाई गलत ढंगले प्रचार गरिएको बताएका हुन्।
'अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुधनले सपथ खाएको २४ घन्टा नबित्दै गिरफ्तार गरियो। कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा गर्यो। उहाँ हिरासतबाट घर फर्किन चाहनुहुन्थ्यो, तर त्यति बेला डाक्टरको सल्लाह मुताबिक उहाँलाई दुईवटा अपरेसन (पत्थरी र हर्निया) गर्न टिचिङ अस्पताल भर्ना गरियो,' उनले भनेका छन्।
उनी अगाडि भन्छन्, 'अपरेसनपछि पनि निमोनिया र इन्फेक्सनसँग जुधिरहनुभएको संवेदनशील स्वास्थ्य अवस्थामा हुनुहुन्थ्यो। यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र आपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो।'
कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा 'बादल' ले व्यक्त गरेको साम्राज्यवादी शक्ति, अल्गोरिदम मार्फत युवाहरूलाई गलत ढंगले परिचालन र सेना, प्रहरी लगायतका राज्य संयन्त्र दुरूपयोग गरी निर्वाचन परिणाम निकालिएको भन्ने विषयमा राखेको धारणा सच्याउने निर्णय गर्नु गलत भएको उनले बताए।