नेकपा एमाले सचिवालयको आठौं बैठक सुरू भएको छ।
चौथो दिनको यो बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसिरहेको हो।
नेताहरूका अनुसार आजको बैठकमा चार जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल, खगराज अधिकारीले धारणा राख्न बाँकी छ।
६ महिनाअघि ११औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओली यो सचिवालय बैठकबाट संकटमा परेका छन्। १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन्। १० जना सदस्यहरूले अहिलेसम्म पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।
निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश सचिवालय सदस्यले ओलीलाई मार्गप्रशस्त गर्न भनेका छन्।
योगेश भट्टराई लगायत केही नेताहरूले राजीनामाकै आवाज उठाएका छन्। विगतमा ओली पक्षको भनेर चिनिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टी पुनर्गठनमा जोड दिएका छन्।
नेताहरूका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा 'बादल' र सचिव महेश बस्नेतले खुलेर ओलीको प्रतिरक्षा गरेका छन्।
उपमहासचिव लेखराज भट्ट र पद्मा अर्याल बीचबीचमा देखिएका छन्। भट्टले पार्टी पुनर्गठन गर्ने भए ६० वर्षमाथिका सबैले बिदा लिऔं भनेर चुनौती दिएका छन्। पद्मा अर्यालले पार्टी नेतृत्वको आँखाबाट हेरेजस्तो मात्रै नरहेको भन्दै तल काम गर्न अप्ठ्यारो भइरहेको बताएकी थिइन्। यद्यपि उनले पुनर्गठनको आवाजलाई असहयोग भने गरेकी छैनन्।
रघुवीर महासेठले पार्टी कसका कारण कमजोर रह्यो समीक्षा गर्नुपर्छ भनेका छन्। सचिव राजन भट्टराई, हिक्मत कार्की, छविलाल विश्वकर्मा लगायतले पनि समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
आज सकिने सचिवालय बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ। निर्वाचन समीक्षा, संविधान संशोधन कार्यदल बनाउनेछ भने केन्द्रीय कमिटी बैठक आह्वान गर्ने पनि नेताहरूले बताएका छन्।