चीनको कोइला खानीमा ८२ जनाको मृत्यु भएको घटनामा नेपाल सरकारले दु:ख व्यक्त गरेको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एक्स अकाउन्टमार्फत उक्त घटनाप्रति दु:ख व्यक्त गरेको हो।
‘शन्सी, चीनमा भएको दुखद् खानी दुर्घटनामा धेरै मानवीय क्षति भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र बेपत्ताहरूको सकुशल उद्धारको कामगना गर्दछु। यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।
शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ७ बजे चीनको शन्सीमा रहेको लुइशेन्यू कोइला माइनमा ग्यास विष्फोट हुँदा ८२ जनाको मृत्यु भएको थियो।
उक्त खानीमा २४७ जना काम गरिरहेका बेला विष्फोट भएको थियो। त्यसमध्ये १४४ जनाले मात्रै ट्र्याकर लगाएका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा कुनै कसर नछाड्न निर्देशन दिएका थिए। यस घटनामा सघन अनुसन्धान समेत गरी दोषी देखिए जोकोहीलाई कारबाही गर्ने समेत चीन सरकारले जनाएको छ।