सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्।
शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो।
उनले सार्वजनिक विद्यालयहरूको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराए।
सांसद बुढाथोकीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो। यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सृजना गरेको छ। साथै २ दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ। शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। गाउँमा विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ। विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’
सांसद बुढोथोकीले सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताए। –न्युज एजेन्सी नेपाल