राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा छुट्ने भएका छन्।
मंगलबार जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सरकारी वकिलको कार्यालय पर्साले सोमबारमात्रै उनीविरूद्ध राज्यविरूद्ध कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्यान नलिन प्रहरीका नाममा आदेश दिएको थियो। उनको मुद्दाको अनुसन्धान सकिएमा दर्ता गर्न र नसकिएको अवस्थामा भने छाडेर जेजस्तो कारबाही गर्नुपर्ने हो त्यसलाई अघि बढाउन आदेश दिएको थियो।
प्रहरीले जेठ ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई जेठ ५ गते तीन दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ ७ गते चार दिनका लागि म्याद थप भएको थियो।
प्रहरीले प्रसाईंलाई उनले दिने अभिव्यक्तिकै कारण पटकपटक पक्राउ गर्दै आएको छ।