सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूलाई पेलेरै प्रतिनिधिसभाको मंगलबारको बैठक कार्यसूचीमा अघि बढाएका छन्।
विपक्षी दलहरूले नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति तोक्न गरेको माग बेवास्ता गर्दै सभामुख अर्यालले बैठक अघि बढाएका हुन्।
प्रतिनिधिसभा बैठक कार्यसूचीतर्फ अघि बढेपछि विपक्षी दहरूले उभिएर विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।
तर सभामुख अर्यालले 'निरिहता' प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय नियमावलीमा तोकिएको छ।
प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गराउनुपर्छ। तर कार्यान्वयन गर्न सभामुख अर्यालले सकेका छैनन्। उनले प्रधानमन्त्री बालेन शाहलाई भेटेरै संसदमा आउन आग्रह गरेका थिए, जसलाई शाहले इन्कार गरे।
सभामुख अर्यालले प्रधानमन्त्रीले मिति तय भएपछि जानकारी गराउने जबाफ दिएका थिए।
विपक्षीहरूले प्रश्नोत्तरको समय निर्धारणको माग जारी राख्दै उठेर विरोध गरेपछि सभामुखले बैठक अघि बढाएका थिए। उनले पर्यटन विधेयक माथिको छलफल सुरू गरेका थिए।
रास्वपा ललितपुरका सांसद जगदीश खरेलले संसदमा अवरोधलाई देखाउँदै तमासा भनेका थिए। त्यसपछि नेपाली कांग्रेस पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ लगायत सांसद आक्रामक भएका थिए।
लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।