अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का लागि उपलब्ध गराउँदै आएको सैन्य प्रतिबद्धता कटौतीको तयारी गरेको छ।
'नेटो फोर्स मोडल' अन्तर्गत अमेरिकाले युद्ध परेको खण्डमा तुरुन्त प्रयोग गर्न मिल्ने भनेर लडाकु विमान, युद्धपोत, पनडुब्बी, बमवर्षक, ड्रोन आदि छुट्याएर राखेको हुन्छ।
शुक्रबार नेटो निर्देशकहरूको बैठकमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का सल्लाहकार अलेक्जेन्डर भेलेज-ग्रीनले वाशिङ्टनले सैन्य योगदान कटौती गर्ने योजना सुनाएको कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै युरोपबाट प्रकाशित हुने अनलाइन पोलिटिकोले लेखेको छ।
रिपोर्टअनुसार अमेरिकाले नेटोको ‘नेटो फोर्स मोडेल’ अन्तर्गत उपलब्ध गराउँदै आएको लडाकु विमान, रणनीतिक बमवर्षक, ड्रोन, युद्धपोत तथा लडाकू विमानमा आकाशमै इन्धन आपूर्ति गर्ने ट्यांकर विमानको संख्या उल्लेख्य रूपमा घटाउने सोच बनाएको छ।
लडाकु विमानको योगदान करिब एक तिहाइसम्म घटाउन सक्ने भनेर पोलिटिकोले लेखेको छ। पनडुब्बीहरू नेटो संरचनाबाट पूर्ण रूपमा हटाउन सक्ने बताइएको छ।
यद्यपि अमेरिकाले युरोपमा आफ्नो आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) भने यथावत् राख्ने आश्वासन दिएको कूटनीतिक स्रोतहरूले बताएका छन्। यसको अर्थ युरोपको परम्परागत रक्षा जिम्मेवारी भने अब युरोपेली देशहरूले धेरै हदसम्म आफैं सम्हाल्नुपर्ने हुन सक्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि नेटो अमेरिकामाथि अत्यधिक निर्भर भएको भन्दै युरोपेली साझेदारहरूलाई रक्षा खर्च बढाउन दबाब दिँदै आएका थिए।
नेटो स्रोतहरूका अनुसार कटौतीको स्वरूप र समयसीमा अझै अन्तिम टुंगोमा पुगेको छैन। युरोपेली देशहरूको क्षमता र वैकल्पिक व्यवस्था कति छ भन्ने आधारमा निर्णय कार्यान्वयन हुने बताइएको छ।
आगामी महिना हुने नेटोको ‘फोर्स जेनेरेसन कन्फरेन्स’ मा यसबारे थप छलफल हुने अपेक्षा गरिएको छ। जहाँ सदस्य राष्ट्रहरूले गठबन्धनलाई उपलब्ध गराउन सक्ने सैन्य क्षमता र सर्तबारे जानकारी दिने गर्छन्।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि युरोपमा अमेरिकी सैन्य उपस्थिति समायोजन हुने संकेत दिएका छन्।
स्विडेनमा नेटो विदेशमन्त्रीहरूको बैठकपछि उनले पत्रकारहरूसँग भने, 'युरोपमा अमेरिकी सैनिक उपस्थिति परिवर्तन हुने कुरा गठबन्धनभित्र बुझिएको विषय हो। यसबारे सहयोगीहरूसँग समन्वय भइरहेको छ।'
जर्मन पत्रिका स्पिगेलले अमेरिकी प्रस्ताव युरोपेली मुलुकहरूले अपेक्षा गरेभन्दा धेरै गम्भीर देखिएको भनेर लेखेको छ।
विशेषगरी रणनीतिक बमवर्षक र युद्धपोतजस्ता साधनको कमी तत्काल पूर्ति गर्न युरोपलाई कठिन हुन सक्नेछ।
युरोपेली नेटो सदस्यहरूसँग आणविक हतियार बोक्न सक्ने रणनीतिक बमवर्षक नभएकाले सुरक्षा चुनौती थपिन सक्ने पनि विश्लेषण गरिएको छ।
उता, नेटो नेतृत्वले भने यसलाई गठबन्धनभित्र जिम्मेवारी सन्तुलनको स्वाभाविक प्रक्रिया भन्दै व्याख्या गरेको छ।
नेटो महासचिव मार्क रूट्टेकी प्रवक्ताले विगतमा नेटो अमेरिका–निर्भर भएको स्वीकार गर्दै युरोप र क्यानडाले रक्षा लगानी बढाइरहेकाले जिम्मेवारीको भार सन्तुलित रूपमा सार्न सकिने बताएकी छन्।
विश्लेषकहरूका अनुसार यदि अमेरिकाले प्रस्तावअनुसार सैन्य योगदान घटायो भने युरोपेली देशहरूले आगामी केही वर्षमै रक्षा क्षमतामा ठूलो लगानी गर्नुपर्ने दबाब बढ्नेछ।
विशेषगरी सन् २०२७ तिर चीन-ताइवान तनाव चर्किन सक्ने अमेरिकी आकलनका बीच वासिङ्टनले आफ्ना सैन्य स्रोतहरू इन्डो–प्यासिफिकतर्फ बढी केन्द्रित गर्न खोजेको बताइएको छ।