राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकीकरण भएको पाँच महिनासम्म पनि समायोजन प्रक्रिया अघि नबढेपछि पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सार्वजनिक रूपमै अवधारणा पत्र नै सम्झाउनुपरेको छ।
देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अठोटसहित दुई पार्टीबीच गत पुस १६ गते एकीकरण भएको थियो। तर अहिलेसम्म पनि समायोजन प्रक्रिया अलपत्र रहेको पूर्वअध्यक्ष थापाको गुनासो छ।
‘एकीकरण भएको पाँच महिना बित्न लाग्दासमेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ संगठनहरूको एकीकरण पनि अझै अलपत्र छ,’ पूर्वअध्यक्ष थापाले भनेका छन्।
साथै पार्टी एकीकरणबारे निर्वाचन आयोगमा पत्रसमेत नपठाएको पूर्वअध्यक्ष थापाको भनाइ छ।
‘यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्रसमेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ, बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ,’ थापाको भनाइ छ।
दुई पार्टी एकता तय गर्दाका अवधारणा पत्रअनुसार तत्काल सबै तहमा समायोजन अघि बढाउन पूर्वअध्यक्ष थापाले सार्वजनिक रूपमै अध्यक्ष लिङ्देनलाई आग्रह गरेका छन्।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको छ। यो वास्तविकतालाई दृष्टिगत गर्दै, दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व समक्ष हार्दिक ध्यानाकर्षण गराउँदछु,’ थापाले भनेका छन्।
पुस १६ मा पार्टी एकता गर्दा थापा र लिङ्देनले एकीकरणसम्बन्धी आधार पत्र पनि सार्वजनिक गरेका थिए।
‘राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्यसमितिका सदस्यहरू एकीकृत पार्टीमा तत्कालीन महाधिवेशन हुँदा कायम रहेको पदमा रहनेछन्। सहमतिका आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालका तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहनेछन्,’ भन्ने पनि सहमति भएको थियो।
साथै 'सहमतिको आधारमा राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ/नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत:तत जिल्लामा सम्मानजनक ढंगबाट समायोजन गर्दै लगिनेछ' भन्ने पनि सहमति छ।
यस्तै राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भ्रातृ संस्थाहरूमा सम्मानजनक ढंगबाट समायोजन गरिनेछ भन्ने सहमति थियो।
पूर्वअध्यक्ष थापाले यही सहमति ५ महिनासम्म पनि अध्यक्ष लिङ्देनले कार्यान्वयन नगरेको गुनासो गरेका हुन्।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टी एकतालगत्तै चुनावमा होमिनु परेको र यसबीचमा केन्द्रीय कार्यसम्पादन समितिमा तत्कालीन राप्रपा नेपालबाट ७ जनालाई समायोजन गरिसकिएको बताए।
‘केन्द्रीय कार्यसम्पादनमा राप्रपा नेपालबाट ७ जना समायोजन भइसक्नुभएको छ, पार्टीका अरू निकायमा समायोजनका बाँकी काम टुंगो लगाउने गरी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र नेता राजिब पराजुलीलाई जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘चुनावपछि जेठ १ मा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्यो, त्यही बैठकले समायोजनका बाँकी काम गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो।’
पूर्वअध्यक्ष थापालाई लक्ष्य गर्दै प्रवक्ता श्रेष्ठले समायोजन रोक्ने वा ढिला गर्ने कुनै मनसाय पार्टीको नरहेको जबाफ पनि दिएका छन्। ‘समायोजन रोक्ने वा ढिला गर्ने कुनै मनसाय छैन, उच्च मनोबलका साथ पार्टीको नियमित काम र अधिवेशनहरु सम्पन्न गर्न जुटौं,’ उनको भनाइ छ।