राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले भदौ २३ गतेको जेनजी आन्दोलनको नेतृत्व सुधन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकालेको छ।
आयोगकी आयुक्त लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरूङमाथि थप अनुसन्धान गर्न भनेको छ।
'भदौ २३ गते एभरेष्ट होटल अगाडि २० देखि २५ हजारको भीड जम्मा भइसकेपछि करिब १२ बजेतिर हामी नेपाल संस्थाका सुधन गुरूङले भीडको नेतृत्व गरेको पाइन्छ', मानव अधिकार आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा भनिएको छ, 'यसरी निज गुरूङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड र झडप भई हुलदंगामा परिणत भएको देखिन्छ।'
आयोगले ब्यारिकेड तोडफोड र हुलदंगा भएपछि मात्र सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको जनाएको छ।
सरकारले सामाजिक सञ्जाल फेसबुक लगायतका प्लेटफर्म बन्द गरेपछि भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै हामी नेपाल संस्थाका सुधन गुरूङ, अंकित मल्ल, खेमराज साउद तथा सबल गौतम र पुरूषोत्तम यादवले निवेदन दिएको र प्रमुख जिल्ला अधिकारीलाई आश्वस्त पारेको उल्लेख गरिएको छ।
'भदौ २३ गते माइतीघरमा सुधन गुरूङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, ३ वटा एम्बुलेन्स र माइकिङ लगायतको व्यवस्था गरेको देखेर रक्षा बम, जस्मिन ओझा लगायतका समूहले सुदन गुरूङसँग केही समय विवाद गरी सुधन गुरूङलाई प्रदर्शनबाट फर्कन समेत आग्रह गरेको देखिन्छ', प्रतिवेदनमा भनिएको छ।
भदौ २३ गतेको आन्दोलन हिंसात्मक हुनुमा टिओबी लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टिओबी लेखिएको ट्याटु खोपेका १५ देखि २० जना बाइकर समूहको प्रवेशलाई आयोगले महत्वपूर्ण परिघटनाका रूपमा उल्लेख गरेको छ।
'बाइकर समूहको प्रवेशपछि विध्वंसात्मक कार्य गर्ने/गराउने समूहले नवयुवाको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरेको छ', प्रतिवेदनमा भनिएको छ, 'बाइकर समूहको वास्तविक अवस्थाबारे थप अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ।'
आयोगले शान्तिपूर्ण प्रदर्शन गर्न भनी अनुमति लिएको र प्रदर्शन हिंसात्मक हुँदा रोक्न नसकेकाले रास्वपा सांसद सुधन गुरूङलाई थप अनुसन्धान गर्न भनेको छ।
प्रदर्शनअघि, प्रदर्शनको दौरान र पछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उनले दिएका अभिव्यक्तिहरूले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनाई सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्याउन मद्दत गरे/नगरेको विषयमा समेत उनीमाथि सूक्ष्म अनुसन्धान गरी छानबिन गर्न आयोगले सिफारिस गरेको छ।