प्रधानमन्त्री बालेन शाह नेपाली ब्राण्ड गोल्डस्टारको जुत्ता लगाएर बजेट भाषणमा सहभागी भएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री शाह आजको प्रतिनिधि सभा बैठकमा पूरा समय बसेका थिए। बैठक सकिएपछि उनले गोल्डस्टार जुत्ता बनाउने कम्पनी किरण सुजकी मुख्य लगानीकर्ता एवं सांसद विदुषी राणालाई जुत्ता देखाएका थिए।
प्रधानमन्त्री शाह कालो पहिरनमा सेतो जुत्ता लगाएर बैठकमा सहभागी भएका थिए।
'प्रधानमन्त्रीले ल हेर्नुस् गोल्डस्टारको जुत्ता भनेर देखाउनुभयो,' विदुषीले सेतोपाटीसँग भनिन्, 'प्रधानमन्त्रीले लगाउनु भएको हाम्रो नयाँ आर्क सिरिजको जुत्ता हो। जसको मूल्य १४ सय जति पर्छ।'
-1780060587.jpg)
प्रधानमन्त्रीले जुत्ता देखाउँदा आफू आश्चर्यमा परेको विदुषीले बताइन्।
'म त छक्कै परेँ। हाम्रो जुत्ता प्रधानमन्त्रीले लगाउनुहुन्छ भनेर सोचेको थिइनँ,' राणाले भनिन्, 'उहाँले रिसर्च नै गरेर जुत्ता लगाउनु भएको रहेछ।'
गोल्डस्टार बनाउने कम्पनीमा झण्डै ३ हजार श्रमिक कार्यरत छन्। जसमा ७० प्रतिशत महिला छन्।
नेपालको कुनै पनि प्रधानमन्त्रीले गोल्डस्टार जुत्ता लगाएको आफूलाई सम्झना नभएको राणाले बताइन्।
'५५ वर्षदेखि गोल्डस्टारले जुत्ता उत्पादन गरिरहेको छ,' राणाले भनिन्, 'माओवादी युद्धमा प्रयोग भएको भन्दै हामीले जुत्ता व्यापारमा असहजता भोग्यौँ। भारतीय नोटबन्दी र नेपालको नाकाबन्दीका बेला पनि जुत्ता व्यापार खस्किएको थियो। प्रधानमन्त्रीले लगाएपछि नेपाली ब्राण्डले पहिचान पाउनेमा आशावादी छु।'
उनले बजेट पनि राम्रो आएको र प्रधानमन्त्रीले जुत्ता पनि प्रमोट गरेकाले आफू खुसी भएको बताइन्।
-1780060587.jpg)
-1780060586.jpg)