नेकपा एमालेले स्थानीय तह चुनावकेन्द्रित कार्ययोजना जारी गरेको छ।
जेठ ४ गतेदेखि चार दिनसम्म बसेको एमाले सचिवालय बैठकले स्थानीय तह चुनावकेन्द्रित ‘पार्टी जागरण अभियान’ सुरू गर्ने निर्णय गरेको हो।
यस अभियानमा केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरुको कार्यविभाजन गरिएको छ।
सचिवालय बैठकले गरेको निर्णय एमालेले अन्तरपार्टी निर्देशनमार्फत मातहतका कमिटीमा पठाएको छ।
एमालेले महाधिवेशन लगत्तै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आमनिर्वाचन केन्द्रित कार्यविभाजन गरेको थियो।
जसअन्तर्गत अधिकांश केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गरि निर्वाचन परिचालन गरिएको थियो।
अहिले त्यसलाई हटाएर नयाँ ढंगले कार्ययोजना बिन्यास गरेको हो।
यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ।
विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागी प्रमुखको व्यवस्था गरिएको एमालेले जनाएको छ।
केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनावलक्षित पालिकाकेन्द्रित कार्यविभाजन गरिएको छ।
केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्यका अतिरिक्त अगुवा कार्यकर्तालाई समेत केन्द्रीय प्रतिनिधिका रूपमा स्थानीय तहको काममा खटाउने एमालेले जनाएको छ।
खटाइएका ठाउँमा जान नसक्ने नेताहरूलाई समयमै प्रदेश इन्चार्जहरूलाई जानकारी गराउन र केन्द्रीय कार्यालयको समन्वयमा उक्त स्थानमा नयाँ प्रतिनिधि खटाउन भनिएको छ।
अन्तरपार्टी निर्देशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोकिएको छ।
जसअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्यविभाजन तोकिएको छ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नेछन्।
उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरुको संयोजन, पृथ्वीसुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभागहरू, रघुजी पन्तले मानवश्रोत सम्बद्ध विभागहरू, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ।
त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्यविभाजनमा उल्लेख छ।
सचिव छविलाल विश्वकर्मा लुम्बिनी प्रदेश इन्चार्ज, पद्मा अर्याल संसदीय मामला विभाग प्रमुख, खगराज अधिकारी गण्डकी प्रदेश इन्चार्ज, भानुभक्त ढकाल संगठन विभाग प्रमुख, यामलाल कँडेल कर्णाली प्रदेश इन्चार्ज, शेरधन राई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराई राजधानी विशेष प्रदेश इन्चार्ज, हिक्मत कार्की विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, र महेश बस्नेत बागमती प्रदेश इन्चार्ज तोकिएका छन्।
अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ।
पूर्णपाठ