लामो समयको मतभेदपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणा पार्टीबाट अलगिने भएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनसँग महामन्त्री राणाले केही वर्षदेखि कार्यशैलीगत प्रश्न उठाउँदै आएका थिए। आफूले उठाएका प्रश्न अध्यक्ष लिङ्देनले बेवास्ता गरेको आरोप उनको थियो।
अध्यक्ष लिङ्देनसँगको टकरावकै कारण महामन्त्री राणाले पार्टी छाडेका छन्। उनले आज एक अपिल जारी गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका छन्।
महामन्त्री राणा राप्रपाबाट बाहिरिएसँगै उनीनिकट धेरै नेताकार्यकर्ता पनि बाहिरिने सम्भावना बढेको छ। त्यसैले राप्रपा विभाजनको संघारमा उभिएको छ।
महामन्त्री राणाले आफूनिकट नेताकार्यकर्ताहरूसँग निरन्तर भेला तथा कुराकानी गरी नयाँ बाटो तय गर्ने निर्णय गरेका छन्।
महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पटक पटक सच्याउन आग्रह गरेका थिए।
उनले पछिल्लो समय एक साताको समय दिएर महाधिवेशन मिति तोक्न भनेका थिए। तर अध्यक्ष लिङ्देनले कार्यसम्पादन समिति बैठक राखेर महामन्त्री राणासहितलाई महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारी दिएका थिए।
महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारीतर्फ महामन्त्री राणा लागेनन्, नयाँ अभियानमार्फत् बेग्लै पार्टी खोल्नतिर अग्रसर भएका छन्।
महामन्त्री राणाले नयाँ बाटो तय गर्ने आह्वान गरेलगत्तै सेतोपाटीसँग उनीसँग कुराकानी गरेको छ।
‘जे अपिलमा मैले लेखेको छु, त्यही हो। अहिलेलाई सैद्धान्तिक कुराभन्दा बाहिर केही छैन, पार्टी फुटतर्फ गयो भन्ने बुझे पनि हुन्छ,’ उनले भने।
उनले जारी गरेको अपिलमा पनि नेता कार्यकर्ताको साथ खोजेका छन् र एकजुट भएर अघि बढ्नुपर्ने कुरा लेखेका छन्।
‘शुभेच्छुक, सहयोद्धा, सहयात्रीहरूको राय र सल्लाहअनुसार देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु,’ उनले भनेका छन्, ‘राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै बैरभाव छैन। सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई अपिल गर्दछु।’
अध्यक्ष लिङ्देनले महामन्त्री राणानिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीविहीन बनाउने गरेको आरोपसमेत थियो। चुनावपछि महामन्त्री राणानिकट केही केन्द्रीय सदस्यहरूले राजीनामासमेत दिएका थिए।
राणाले राप्रपाका करिब ६० केन्द्रीय सदस्य लिएर अरू शक्ति तथा अभियानहरू संगठित गर्दै नयाँ पार्टी बनाउने तयारी गरेको उनीनिकट एक नेताले जानकारी दिए।
