सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहलाई दल नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ।
पार्टी संसदीय दल कार्यालयमा आज मुख्यमन्त्रीसमेत रहेका दल नेता शाहविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको सांसदहरूले बताएका छन्।
सांसद दिवान सिंह विष्टसहित ९ जना सांसदहरूले दल नेताबाट शाहलाई हटाउनुपर्ने माग गर्दै अविश्वास प्रस्ताव राखेका हुन्।
सांसद विष्टले सेतोपाटीसँग कुराकानी गर्दै दल नेता शाहविरूद्ध अविश्वास प्रस्ताव राखिएको बताए।
‘सुदूरपश्चिममा हामी १८ जना सांसद हौं, त्यसमध्ये प्रकाश देउवा अमेरिकामा हुनुहुन्छ,’ उनले भने, ‘अहिले कायम रहेको १७ जनाको बहुमत ९ जना दल नेता परिवर्तनको पक्षमा हुनुहुन्छ।’
अब दल नेतासमेत रहेका मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ।
कांग्रेसको असन्तुष्ट सांसदहरूले विष्टलाई दल नेता बनाउनुपर्ने बताइरहेका छन्।
सांसदहरू मानबहादुर रावल, दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार, जुनाकुमारी दानीले दल नेता परिवर्तन गर्न हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।
दल नेतासमेत रहेका मुख्यमन्त्री शाह निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनी देउवा पक्षले हालै सुदूरपश्चिममा गरेको भेलामा पनि सहभागी थिए।
विगतमा बागमती प्रदेशमा पनि संसदीय दल नेता परिवर्तन भएको थियो। बहादुर सिं लामा तामाङलाई संसदीय दल नेताबाट हटाउन कांग्रेस सांसदहरूले अविश्वास प्रस्ताव राखेका थिए भने त्यसपछि चुनाव गरेर ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए।