राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले केही मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको बताएकी छन्।
आफ्ना नेताले जे भन्यो त्यो सही साबित गर्न ती मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको उनको भनाइ थियो।
यो कुरा उनले आज प्रतिनिधिसभा बैठकमा भनेकी हुन्।
'संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीहरूले सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नु अनिवार्य हुन्छ, किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ,' उनले भनिन्, 'आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यो सही साबित गर्न देशकै विरूद्ध प्रमाण खोज्न दौडिरहेका छन्।'
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकको रोस्ट्रमबाट 'नेपालले भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको बचाऊमा रास्वपाका केही सांसद तथा मन्त्रीहरू देखिएका छन्। त्यसतर्फ लक्ष्य गर्दै राप्रपा प्रमुख सचेतक ओलीले उक्त कुरा गरेकी हुन्।
'नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन। यो सदनका सम्मानित माननीयज्यूहरूलाई त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु। नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ, एक दिन मानिसले आफ्नो नेताको बचाऊ गर्दै आफ्नो देशको पक्ष छाडेको यहाँहरूलाई स्मरण पनि रहँदैन,' उनले भनिन्।
'यस सभाभित्रका अभिव्यक्तिहरूलाई प्राविधिक रूपमा सच्याउन वा पुनर्व्याख्या गर्न त सकिएला, तर मेरो चिन्ता अन्तर्राष्ट्रिय मेनस्ट्रिम मिडियामा गइसकेका सन्देशप्रति पनि छ। प्रतिध्वनिहरू निर्माण भइसकेका छन्। हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा गइसकेका सन्देशलाई सच्याउन वा हटाउन सक्दैनौं। एक पटक कुनै सन्देश अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा गइसकेपछि त्यो सन्देश अपरिवर्तनीय र कूटनीतिक छापका रूपमा स्थापित हुन्छ, जसलाई न मेटाउन सकिन्छ, न फिर्ता लिन सकिन्छ, न त सहज रूपमा सच्याउन सकिन्छ,' उनले भनिन्।
उनले सभामुख अर्यालसँग प्रतिपक्षीहरूलाई पेलेर सदन बैठकमा सञ्चालन गर्नुभन्दा सबै दलका शीर्ष नेताहरूलाई डाकेर छलफल राख्न आग्रह गरिन्।
'हामी सबैले यो मुद्दालाई राष्ट्रिय गरिमासँग जोडेर हेरौं, र प्रधानमन्त्रीज्यूलाई पनि आफ्नो अभिव्यक्ति सच्याउन र यसमा स्पष्टीकरण दिन हामी अनुरोध गर्न चाहन्छौं,' ओलीले भनिन्।