नेपाली कांग्रेसले प्रधानमन्त्री उपस्थित भएर माफी नमागेसम्म संसद चल्न नदिने बताएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दल उपनेता अभिषेकप्रताप शाहले विषय संवेदनशील भएका कारण प्रधानमन्त्रीले संसदमै आएर माफी माग्नुपर्ने बताएका हुन्।
'प्रधानमन्त्रीको अभिव्यक्तिमा हाम्रो पार्टीको गम्भीर आपत्ति छ। हामी यो विषयमा संवदेनशील छौं। प्रधानमन्त्री आएर माफी माग्नुपर्छ। अनि संसद चलाउन दिन्छौं,' उनले भनेका छन्।
नेपालले भारतको कतिपय जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक ठहर भएको र नेपाली कांग्रेसले कडा विरोध दर्ज गरेको उनले बताएका छन्।
'नसमजले यो अभिव्यक्ति दिनुभएको हो त्यो चिन्ताजनक हो। यदि सोचे सम्झेर दिएको विषय हो भने खतरानक हुनसक्छ,' उनले भनेका छन्।
प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलहरूले लगातार सदनमा अवरोध गर्दै आइरहेका छन्।