नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो धारणा राख्न माग गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले रास्वपाको धारणा मागेका हुन्।
'देशको जिम्मा लिएको भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहले बोल्नुभएको नेपालले भारतको सीमाना मिचेको छ भन्ने विषयमा राष्ट्रिय धारणा केहो? आम नेपाली नागरिकलाई रास्वपाले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ,' उनले भनेका छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताएका छन्।
'रेकर्डबाट हटाउनुपर्छ। सत्यतथ्य सहित देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ। यो इस्यूलाई राष्ट्रिय महत्त्वको इस्यू बनाएर समाधान गरी जानुपर्छ,' उनले भने।
उनले सदन डिस्टर्ब गर्ने नियत विपक्षीहरूको नभएको पनि बताए।
'साउन १ गतेबाट लागू हुने नयाँ बजेटभन्दा देशको सीमानाबारे प्रधानमन्त्रीज्यूले संसदमा बोल्नुभएको विषय अत्यन्त संवेदनशील भएकाले उच्चस्तरीय राजनीतिक छलफल बहस बैठक र सदनको पनि सभामुको पनि पहलबाट यसको समस्या समाधान होस्र। सभामुखबाट प्रधानमन्त्रीलाई रूलिङ होस,' उनले भनेका छन्।