नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा कार्यशालाले प्रदेश सरकारको संरचनात्मक र व्यवस्थापकीय सुधार गर्ने संकल्प गरेको छ।
त्यसका लागि अनावश्यक संरचना खारेज वा समायोजन गरी खर्च कटौती गर्ने उल्लेख छ। प्रदेश सरकारले स्थानीय सरकारहरुसँगको समन्वय र साझेदारीमा प्रभावकारी सेवा विस्तार गरिने भेलाले संकल्प गरेको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी र जनप्रतिनिधिको २ दिने भेला तथा तथा कार्यशालाले २८ बुँदे लुम्बिनी संकल्प जारी गरेको हो।
संकल्पमा प्रदेश तथा स्थानीय सरकारका तर्फबाट पनि नागरिकको आत्मसम्मान र प्रक्रियागत शुद्धतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने उल्लेख छ। लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वका स्थानीय सरकारहरुले गरेका सफल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई एक–अर्काले अवलम्बन गर्ने बताइएको छ।
भेलाले विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै, संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर कार्य गर्न ध्यानाकर्षण गराएको छ।
वित्तीय अनुशासन पालना गर्दै सबै स्थानीय सरकारहरुले असार १० भित्र बजेट पेश गर्ने, योजना तर्जुमाका सातै चरण पालना गर्ने र 'शून्य बेरुजु स्थानीय सरकार' निर्माण अभियानको अग्रसरता लिँदै खर्चको मापदण्ड कडाइका साथ पालना गर्ने कांग्रेसले जनाएको छ।
निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा भन्दा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा हुनसक्ने कुनैपनि निर्णय वा योजना छनौट प्रकृया रोक्न ’योजना बैंक’ बनाइ सो मार्फत मात्र योजना छनोट र कार्यान्वयन गर्ने भेलाले प्रतिबद्धता व्यक्त गरेको छ।
अनुत्पादक क्षेत्रमा लगानी नगर्ने। तीन तहको सरकारबीच योजना बैंकमा तादात्म्यता ल्याउन र सो को अनिवार्य पालना गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्ने कुरा संकल्प पत्रमा उल्लेख छ।
घरघरसम्म सेवा पुर्याउने गरी 'घर–आँगन सेवा' लाई प्रभावकारी बनाउने, जन्म÷मृत्यु दर्ता, स्वास्थ्य बीमा दर्ता र नवीकरण लगायतका सेवा 'अनलाइन वा आँगनबाट' प्रभावकारी ढंगबाट अगाडि बढाउन पनि कांग्रेसले पालिकाहरुलाई आग्रह गरेको छ।
अपाङ्गता भएका व्यक्ति, दीर्घरोग भएका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी लगायतलाई आधारभूत स्वास्थ्य जाँच घरआँगनमै गर्ने व्यवस्था गर्न पनि भनेको छ।
'एक स्थानीय तह, एक विशिष्ट कृषि उत्पादन’ नीति लिने। किसानका लागि मल, बीउ, सिँचाइको सहज पहुँच र ट्र्याकिङ सिस्टम जडित ’कृषि एम्बुलेन्स’ एवं कृषकलाई बजार पहुँचका लागि सहजीकरणको व्यवस्था गर्ने, रूपन्देही–नवलपरासी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा विकास गरी औद्योगिक पुनरुत्थान गर्ने, नेपालगञ्ज–कोहलपुर, भैरहवा–बुटवल औद्योगिक करिडोरलाई सुविधासहित स्तरोन्नति गर्न पहल गर्ने कांग्रेस नेतृत्वका स्थानिय तहहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।
भेला तथा कार्यशालाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विवादास्पद भनाइबारे प्रधानमन्त्री, सरकार र सत्तारुढ दलले अविलम्ब संसद र जनतासमक्ष सार्वजनिक स्पष्टीकरण दिन र माफी माग्न जोडदार माग गरेको छ। लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न लुम्बिनी गुरुयोजनाका बाँकी कार्यलाई उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्न तीनै तहका सरकारबिच आवश्यक समन्वयको पहल गर्ने कांग्रेसको भेलाले संकल्प गरेको छ।
धार्मिक तथा सांस्कृतिक पर्यटनः लुम्बिनी, रामग्राम, देवदह, तिलौराकोट, रुरु(रिडी), रेसुङ्गा जस्ता क्षेत्रलाई जोड्दै 'बुद्ध सर्किट' र धार्मिक पर्यटन पथको विकास गर्ने, बागेश्वरी, ठाकुरबाबा, स्वर्गद्वारी जस्ता पवित्र धार्मिकस्थलहरुको सांस्कृतिक महत्वको प्रचारप्रसार गर्ने र थारु संस्कृति तथा माघि उत्सव, लुम्बिनी महोत्सव, रिडी मेला जस्ता सांस्कृतिक मेला महोत्सवको पर्यटकीय ब्रान्डिङ गर्ने कांग्रेसका पदाधिकारी तथा जनप्रतिनिधिहरुले संकल्प गरेका छन्।
पार्टी र सरकारबीच नियमित समन्वय संयन्त्र गठन गरी न्यूनतम् पनि नियमित मासिक संवाद गर्ने परिपाटी बसाल्ने र पार्टी संगठनलाई सुदृढ गर्न र क्रियाशील सदस्यहरूको डिजिटल अभिलेख राख्न 'जरा अभियान' लाई तीव्रता दिने निर्णय प्रदेशस्तरिय कार्यशाला भेलाले गरेको छ।
सोमबार कांग्रेसका सभापति गगनकुमार थापाले भेला तथा कार्यशालाको उद्घाटन गरेका थिए। पहिलो दिन कांग्रेसको केन्द्र र प्रदेशका पदाधिकारी र पार्टीका तर्फबाट संघिय तथा प्रदेश सांसदसँग छलफल भएको थियो।
दोस्रो दिन मंगलबार पालिकाका पार्टी पदाधारीकारी र जनप्रतिनिधिहरुबीच समूहगत छलफल गरिएको थियो। समूहगत छलफलपछि लुम्बिनी संकल्प जारी गरिएको थियो।
भेला तथा कार्यशालाको समापन गर्दै कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विशेष महाधिवेशनमा भाग लिएका र नलिएका दुवै पक्षको पार्टी भएको बताए। अब पार्टीलाई एक ढिक्का बनाएर अघि लैजाने र कामको आधारमा कार्यकर्ताको मुल्यांकन गरिने उनले बताएका थिए।