नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल 'रबरस्टाम्प' बनेको आरोप लगाएका छन्।
पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशालाको बिहीबार उद्घाटन गर्दै ओलीले राष्ट्रपतिले जेनजी आन्दोलनपछिको घटनाक्रम सुनाउँदै राष्ट्रपतिले लोकतन्त्र जोगाएको भने पनि 'रबरस्टाम्प' बनेको बताएका हुन्।
'प्रधानमन्त्री बन्न संविधान चाहिएन। संविधान विपरितको प्रधानमन्त्री बन्छ। संविधान विपरीत प्रतिनिधि सभा भंग हुन्छ। अनि सम्मानित राष्ट्रपति बडो जुक्तिले लोकतन्त्र बचाएँ भन्नुहुन्छ,' उनले भने, 'अहिलेसम्म आइपुग्दा राष्ट्रपति जी रबरस्टाम्प बनेर...संविधानको रक्षक र पालक बनेर जुन चिज गर्नु पर्ने हो त्यो नगरेर जुन चिज गर्न नहुने हो त्यो गर्नुभो। जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपति गरिरहनुभएको छ।'
सम्मानीत संस्थाबारे आफूलाई बोल्ने इच्छा नभएको पनि ओलीले बताए।
'तर वास्तवमा बडो जुक्तिका साथ लोकतन्त्र एक पछि अर्को कदमबाट सिध्याउने काम भएको छ। जुन कुरा हामीलाई मान्य छैन,' उनले भने।