नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख डोलप्रसाद अर्यालको भूमिकाको आलोचना गरेका छन्।
संसदको रोस्ट्रमबाट 'नेपालले भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गर्न र चुप लगाउन नसकेका सभामुखले देशका पक्षमा बोल्ने सांसदहरूलाई कारबाही गर्न खोजेको ओलीको दाबी छ।
‘गाई कि त्रिशुलजस्तो गर्दा भवितव्यले एकछिन कोही प्रधानमन्त्रीमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन, दिइँदैन,’ ओलीले आज पार्टीले गरेको कार्यक्रममा भने, ‘यसबारे धेरै खेद गर्नुपर्ने कुराहरू छन्। म प्रतिपक्षी सांसदहरूलाई धन्यवाद दिन्छु, राष्ट्रियताका पक्षमा बोल्नुभएको छ। बोल्दा सुनिएन भनेर अलि माथि गएर बोल्नुभयो अरे, उनीहरूलाई कारबाही गर्ने अरे। देशद्रोही कुरा गरेर अर्काको भूमि त्यो पनि भारतजस्तो विशाल देशको भूमि धेरै ठाउँमा नेपालले मिचेको छ भनेर कसलाई के सबुत दिन खोजेको? यस्तो राष्ट्रघाती काम गर्दा प्रधानमन्त्रीका विरूद्ध कुनै रूलिङ नगर्ने, चुप लाग्नुस् भन्न नसक्ने सभामुखले देशका पक्षमा बोल्ने सांसदलाई कारबाही गर्न समिति बनाउने? गर्नुस् गर्नुस् कारबाही, देशका पक्षमा बोल्ने यी नेपाली जनतालाई कारबाही गर्नुस्, तपाईं के के गर्न सक्नुहुन्छ।’
संसदमा अमर्यादित गतिविधि गरेका सांसदहरूमाथि छानबिन गर्न समिति गठन भएको थियो। त्यसतर्फ लक्ष्य गर्दै ओलीले असन्तुष्टि जनाएका छन्।
साथै अध्यक्ष ओलीले आफूलाई गिरफ्तार गर्न विभिन्न जालो बुनिएको दाबी गरेका छन्।
‘तपाईं जालो बुनेको बुन्यै हुनुहुन्छ त केपी ओलीलाई गिरफ्तार गर्न, गर्नुस् न यहीँ छु त। यस्ताहरूले खुट्टा ढ्यापढ्याप गर्दैमा देश छाडेर भागेर हिँड्ने मानिस होइन,’ उनले भने, ‘म जीव्रो चपाएर बोल्दिनँ, स्पष्ट भन्छु। एमाले अहिले धक्का खाएको होला फेरि उठ्छ। धक्का दिनेलाई फेरि धक्का दिन्छ। नेपालीको देशभक्ति भावना बलियो छ, म चेतावनी दिन चाहन्छु। अत्याचारको पराकाष्ठा हुँदैछ।’
उनले प्रतिपक्षी सांसदहरूलाई सशक्त भूमिकाप्रति धन्यवाद दिएका छन्। ‘जसले यस्तो परिस्थितिमा राष्ट्रवादका पक्षमा उभिन सक्दैन, कठैबरा विचरा मान्छेको जुनि पाएर पनि,’ उनले भने।
अध्यक्ष ओलीले छिमेकीहरूसँग केही परे दुई पक्षीय हिसाबले छलफल गरी समाधान गरिने बताए।
‘छिमेकीहरूसँग कुनै वादविवाद पर्यो भने दुई पक्षीय हिसाबले बसेर समाधान गर्छौं, तेस्रो पक्षलाई त्यहाँ सामेल गर्दैनौं। प्रधानमन्त्रीले भने- यो नेपालको नीति हो, हामीले यो प्रक्रिया अघि बढाइसकेका छौं। नेपाल तपाईंको घरको सम्पत्ति होइन,’ ओलीले भने।
केही दिनअघि प्रधानमन्त्री शाहले सांसदको प्रश्नमा जबाफ दिने क्रममा नेपाल-भारत सीमा विवादबारे बेलायतसँग पनि कुरा भइरहेको अभिव्यक्ति दिएका थिए।