नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने अभिव्यक्ति दिएपछि उपमहासचिव योगेश भट्टराईले त्यसतर्फ लक्ष्य गर्दै वृद्ध मानिसको कथा स्मरण गरेका छन्।
आज पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै ओलीले 'मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ' भनेका थिए।
साथै उनले शिर काटेर संगठन बलियो नहुने बताएका थिए।
‘शिर काटेर टेबलमा राखेपछि संगठन बलियो हुन्छ भन्ने भ्रम पाल्नेहरूलाई बुझ्न जरूरी छ। व्यक्ति हटाएर विचार हट्दैन, न त नेतृत्व कमजोर बनाएर आन्दोलन बलियो हुन्छ। संगठनभित्र बसेरै संगठनको जग खन्ने, एकताको नाममा विभाजन गर्ने र स्वार्थलाई सिद्धान्तभन्दा माथि राख्ने प्रवृत्तिले सबैभन्दा ठूलो क्षति पुर्याउँछ,’ ओलीले भनेका थिए, ‘आफ्नै घरको छाना भत्काएर महल बनाउने सपना सफल हुँदैन। बाहिरका विरोधिभन्दा भित्रका अवसरवादीहरू नै संगठनका लागि बढी खतरनाक हुन्छन्।’
उनले पार्टीभित्र गुटबन्दी गर्न नहुनेमा जोड दिएका थिए।
‘आलोचना आवश्यक छ, तर संगठन नै कमजोर पार्ने गरी गरिने गतिविधि राजनीतिक चेतना होइन, स्वार्थ हो। आज आवश्यकता शिर खोज्ने होइन, जिम्मेवारी बोक्नेहरूको हो। गुटबन्दी होइन, स्पष्ट विचार, इमानदार व्यवहार र साझा लक्ष्यले मात्र एकता बलियो हुन्छ। समयले सबैको नियत र भूमिकाको मूल्याङ्कन अवश्य गर्छ,’ ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएको केही समयमै उपमहासचिव योगेश भट्टराईले एक जना वृद्धको कथा सम्झिएका हुन्।
‘नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्द सत्रमा पार्टीका एकजना वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो- एकजना बुढा मानिस बसमा चढ़ेछन्। सिट खाली थिए तर उनी सिटमा बसेनन्। उभिएर बसभित्रको फलामको डण्डी समाए। बाटो उबडखवाड थियो। बस गुड्न सुरू गर्यो। बस घरि दायाँ ढलकिन्थ्यो बुढा मानिस बसको डण्डीलाई बायाँतिर जोडले तन्थे। फेरि बस बायाँ ढलकिन्थ्यो बुढा मानिस डण्डीलाई जोडले दायाँ तान्थे। यही रीतले बस अघि बढी रह्यो। बुढा मानिस सोही क्रिया गरिरहे। बुढा असिन पसिन भए। बस गन्तब्यमा पुगेर रोकियो। सबै यात्रु बाहिर निस्के। बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरू सबै मेरो कारणले बच्नु भयो। यात्रुहरू छक्क परेर सोधे कसरी? बुढाले सगौरब भने- पल्टिन लागेको बसलाई डण्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नु भयो। आज मलाई यो कथाको खुब सम्झना भयो,’ योगेशले अध्यक्ष ओलीप्रति लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।