चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता उत्तर कोरियाको दुई दिने भ्रमण गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनमा स्वागत गरे लगत्तै सीले गरेको उत्तर कोरिया भ्रमण अन्तर्राष्ट्रिय समुदायले ध्यानका साथ हेरेको छ।
भ्रमणका क्रममा उत्तर कोरियाका नेता किम जोङ उन र सीको हाउभाउलाई समेत संसारभरका विश्लेषकले मिहिन ढंगले नियाले। तर पनि यो भ्रमणमा सी र किमबीच भएको कुरा खुल्न हप्तौं वा महिनौं समेत लाग्न सक्छ।
शीर्ष नेताहरूबीच हुने भेटघाटमा भएका सबै कुराहरू उसै पनि हत्तपत्त खुलासा हुँदैनन्। झन् दुई तानाशाही कम्युनिस्ट शासकबीच भएका कुरा तुरून्त थाहा पाउने त केही उपाय नै हुँदैन। उनीहरूले निकाल्ने कर्मकाण्डी विज्ञप्तिले सांकेतिक इसाराबाहेक अरू खासै केही खुलासा गर्दैनन्।
यी सबै सीमितताका बाबजुद चीनमा निर्भर उत्तर कोरिया रूसतर्फ धेरै ढल्किन थालेपछि आफ्नो प्रभाव जोगाउन सीले यो भ्रमण गरेको देखिन्छ।
उत्तर कोरिया तत्कालीन सोभियत संघका कारण अस्तित्वमा आए पनि चीनको भरथेगका कारण मात्रै सो देश जोगिएको हो।
कोरिया कब्जा गरेको जापानले दोस्रो विश्व युद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजन भएको थियो। उत्तरपट्टिको भाग सोभियत संघको नियन्त्रणमा थियो भने दक्षिण अमेरिकाको। किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत संघकै भरमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेका थिए।
सोभियत संघले उत्तर कोरियालाई हतियार मात्रै दियो। केही पाइलटसहितका लडाकु विमानले युद्धमा भाग लिए। तर सोभियत संघले प्रत्यक्ष रूपमा सो युद्ध लडेन।
दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो। युद्धका क्रममा अमेरिकी सेना उत्तर कोरियाभित्र छिरेर कम्युनिस्ट चीनकै सीमा छेउ पुगेको थियो। त्यसपछि चीन पनि उत्तर कोरियाको पक्षमा युद्ध मैदानमा ओर्लिएको थियो। दुई लाखभन्दा बढी चिनियाँ सैनिकको बलिदानका कारण मात्रै उत्तर कोरिया जोगियो।
यसपालिको भ्रमणका क्रममा सी त्यति बेला मारिएका चिनियाँ सैनिकको सम्मानमा बनाइएको चीन–कोरिया मैत्री स्मारकमा पुगे। अनि अमेरिकाविरूद्ध सँगै लडेको स्मरण गराउँदै किमलाई दुई देशको मित्रता रगतले सिञ्चित भएको सम्झाए।
सीको सो टिप्पणी पछिल्ला वर्षमा चीन र उत्तर कोरियाबीचको सम्बन्धका आयाम बदलिएको परिप्रेक्ष्यमा हेरिनुपर्छ।
चीन पहिल्यैदेखि उत्तर कोरियाको आणविक कार्यक्रमको पक्षमा थिएन। उत्तर कोरियाले आणविक हतियार बनाएपछि सी किमसँग चिढिएका थिए।
पछिल्लो पटक सन् २०१९ जुनमा उत्तर कोरियाको भ्रमण गर्दा सीले किमलाई अमेरिकासँगको आणविक वार्तामा प्रगति होस् भन्ने सारा विश्वको चाहना रहेको बताएका थिए।
त्यति बेला ट्रम्पले किमसँग दुई पटक भेटवार्ता गरिसकेका थिए। सीको आग्रहमा नै केही दिनपछि ट्रम्प र किमको तेस्रो भेट भएको थियो। ट्रम्पसँगको तेस्रो वार्ता असफल भएपछि पनि उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्छ भन्ने चीनको धारणा रह्यो।
तर सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिवेश बदलियो।
युक्रेनसँग लड्दा गोलाबारूद कम हुँदै गएपछि पुटिनले इरान र उत्तर कोरियाबाट किने। त्यति मात्रै नभएर हजारौं उत्तर कोरियाली सैनिकले रूसको तर्फबाट युक्रेनसँग लडे। अझै पनि लडिरहेका छन्।
रूसले उत्तर कोरियालाई खाद्यान्न र तेल दिइरहेको छ। पछिल्लो समय किमले रूसबाट अत्याधुनिक हतियार प्रविधि पनि पाउने आशा गर्न थालेका छन्।
सम्बन्ध विस्तार हुँदै गएर दुई वर्षअघि उत्तर कोरिया र रूसले पारस्परिक रक्षा सम्झौता नै गरे।
यसले परम्परागत रूपमा चीनमाथि निर्भर रहेको उत्तर कोरियालाई रुसको समेत भरथेग भयो। अर्कोतर्फ चीनलाई भने उत्तर कोरिया आफूबाट टाढा भएर रूससँग नजिक हुन सक्ने डर पस्यो।
अमेरिका लगायत पश्चिमा देशहरू विरूद्धको खेमामा चीन र रूस सँगै छन्। तर पनि दुई देशबीच हार्दिकता छैन। त्यसैले किम पुटिनसँग धेरै नजिकिएपछि चीनले उत्तर कोरिया प्रतिको रवैया बदल्यो।
गत सेप्टेम्बरमा चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी हुन किम चीन गए। सो भ्रमणका क्रममा निकालेको विज्ञप्तिमा पहिलो पटक चीनले कोरियाली प्रायद्वीप आणविक हतियार रहित हुनुपर्ने आफ्नो परम्परागत अडान उल्लेख गरेन।
यस पटक पनि सीले आणविक हतियारबारे कुरा निकाल्लान् भनेर भ्रमणअघि नै किमले त्यसो नगर्न स्पष्ट संकेत गरे। सीको आगमनको चार दिनअघि मात्रै आफ्नो आणविक महत्वाकांक्षा माथि कुनै छलफल हुन सक्दैन भनेर किमले स्पष्ट सन्देश दिएका थिए।
जुन ४ मा उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले किमले आणविक सामग्री उत्पादन गर्ने कारखानाको अनावरण गरेको र उनी युरेनियम प्रवर्द्धन गर्ने केन्द्र जस्तो देखिने ठाउँमा उपस्थित भएका तस्बिरहरू सार्वजनिक गरेको थियो। सी प्योङयाङ आउनु अघिल्लो दिन मात्रै किमकी शक्तिशाली बहिनी किम यो जोङले उत्तर कोरियाको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत अपरिवर्तनीय भइसकेको घोषणा गरिन्।
सीको भ्रमणका क्रममा दुई देशले निकालेका विज्ञप्तिमा पनि आणविक हतियारबारे केही पनि उल्लेख गरिएको छैन। तर विज्ञप्तिमा नसमेटिए पनि दुई नेताले यस विषयमा कुरा भने गरेका हुन सक्छन्।
पहिलो कार्यकालमा किमसँगको वार्ताबारे ट्रम्पले सीसँग सल्लाह गरेका थिए। सात वर्षअघि उत्तर कोरिया भ्रमण गर्दा ट्रम्पसँग वार्ता गर्न आग्रह गरेजस्तै सीले यसपटक पनि ट्रम्प र किमबीच मध्यस्थता गरेका हुन सक्छन्।
उत्तर कोरियालाई रुसले आणविक शक्तिको मान्यता दिइसकेको देखिन्छ। चीनले पनि अहिले सो हैसियत स्वीकार गरेको देखिन्छ। अमेरिकाले समेत त्यसलाई स्वीकार गरेर उत्तर कोरियासँग सम्बन्ध सुधार गर्नुपर्ने केही अमेरिकी विज्ञले पनि जिकिर गर्न थालेका छन्।
रूससँग निकटताका कारण हौसिएर उत्तर कोरिया आक्रामक भयो भने आफूलाई घाटा हुने चीनको ठहर छ।
उत्तर कोरियाले दक्षिण कोरियामा आक्रमण गर्यो भने चीनको आँगनमै हुने लडाइँमा अमेरिका संलग्न हुने पक्का जस्तै छ। युद्ध नै नभए पनि किम धेरै उग्र भए दक्षिण कोरिया र जापानले समेत आणविक हतियार बनाउन खोज्छन् भन्ने चीनलाई डर छ।
त्यसैले उत्तर कोरिया र अमेरिकाबीच मध्यस्थता गर्नमा चीनको पनि स्वार्थ छ। तीन हप्ताअघि मात्रै चीन भ्रमण गरेका ट्रम्पले सीसँग उत्तर कोरियाबारे पनि कुरा गरेका थिए। सो कुराकानी पछि किमलाई ट्रम्पको सन्देश समेत लिएर सी उत्तर कोरिया गएको भनी विभिन्न पश्चिमा मिडियाले जनाएका छन्।
भ्रमणका क्रममा क्षेत्रीय र विश्व शान्ति संयुक्त रूपमा रक्षा गर्नुपर्ने किमलाई सीले भनेकाले ट्रम्पको सन्देशबारे कुरै भएन भन्न पनि सकिँदैन।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)