निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनमा सहभागी हुन सकारात्मक भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्।
अधिवेशन तयारी लगायत विभिन्न कार्यहरूबारे आवश्यक छलफल गरेर निर्णय गर्न आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता देवराज चालिसेले बताए।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष यही महाधिवेशनमा सहभागी हुन सकारात्मक रहेको संस्थापन पक्षको दाबी छ।
खड्काकै माग अनुसार अध्यावधिक नगरेका क्रियाशील सदस्यले पनि महाधिवेशनमा भाग लिन पाउने यसअघि नै निर्णय भइसकेको थियो।
'निवर्तमान कार्यवाहक सभापति खड्कासहित उहाँनिकट सबै नेताहरू यही महाधिवेशनमा भाग लिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं,' एक पदाधिकारीले भने, 'खड्का र उहाँनिकट नेताहरूलाई अहिलेको कार्यसमितिमा समेट्ने जस्ता थुप्रै कुरा पनि भइरहेको छ।'
खड्काले सहमतिका लागि केही समयअघि पठाएको प्रस्तावमा शेखर कोइरालासहित १११ जना नेताहरूलाई अहिलेको केन्द्रीय समितिमा समायोजन गर्ने पनि प्रस्ताव थियो।
महाधिवेशन सुरू गर्नुभन्दा अघि पार्टीभित्र बृहत एकताका लागि यो माग पूरा गर्न पनि संस्थापन पक्ष सकारात्मक देखिएको ती पदाधिकारीले बताए।
'निवर्तमान कार्यवाहक सभापतिले चाहनुभयो भने उहाँनिकट नेताहरूलाई अहिलेको केन्द्रीय कार्यसमितिमा मनोनित गरिन्छ। सकेसम्म उहाँ पनि सर्वोच्च अदालतमा रहेको मुद्दा फिर्ता लिएर सहमतिमा आउनुपर्छ भन्नेमा छौं,' पदाधिकारीले भने।
खड्कानिकट ३१ जना नेताहरूले पार्टीको सम्पूर्ण एकताका लागि शुक्रबार अपिल गरेका थिए।
यसरी अपिल गर्नेमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर लगायत थिए।
उनीहरूले संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले जारी गरेका दुवै कार्यतालिका स्थगित गरी सहमति खोज्नुपर्नेमा जोड दिएका थिए।
नेता रामहरि खतिवडाले बृहत एकताका लागि आफूहरूले अपिल गरेपछि सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी पाएको र पूर्वमहामन्त्री शशांक कोइराला पक्षबाट पनि सहमतिको प्रयास हुनुपर्ने बताए।
'हामीले सभापति गगन थापालाई मात्र अपिल गरेको होइन, दुवै पक्षलाई अपिल गरेको हो। सभापति थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी आयो, केही निर्णय गर्नुहोला, शशांक कोइरालाको तर्फबाट पनि पहल हुनुपर्छ,' उनले भने।
कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरू गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोजको १५ गतेदेखि वडा अधिवेशन गर्ने गरी बेग्लै कार्यतालिका ल्याएका छन्।