नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकमा पार्टीको १५औं महाधिवेशनका तयारी लगायत विभिन्न कार्यहरूबारे आवश्यक छलफल गरेर निर्णय गरिने प्रवक्ता चालिसेले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनमा सहभागी हुन सकारात्मक भएपछि सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका हुन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष यही महाधिवेशनमा सहभागी हुन सकारात्मक रहेको संस्थापन पक्षको दाबी छ।
खड्काकै माग अनुसार अध्यावधिक नगरेका क्रियाशील सदस्यले पनि महाधिवेशनमा भाग लिन पाउने यसअघि नै निर्णय भइसकेको थियो।
खड्काले सहमतिका लागि केही समयअघि पठाएको प्रस्तावमा शेखर कोइरालासहित १११ जना नेताहरूलाई अहिलेको केन्द्रीय समितिमा समायोजन गर्ने पनि प्रस्ताव थियो।
महाधिवेशन सुरू गर्नुभन्दा अघि पार्टीभित्र बृहत एकताका लागि यो माग पूरा गर्न पनि संस्थापन पक्ष सकारात्मक देखिएको एक पदाधिकारीले बताए।
खड्कानिकट ३१ जना नेताहरूले पार्टीको सम्पूर्ण एकताका लागि शुक्रबार अपिल गरेका थिए।
यसरी अपिल गर्नेमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर लगायत थिए।
उनीहरूले संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले जारी गरेका दुवै कार्यतालिका स्थगित गरी सहमति खोज्नुपर्नेमा जोड दिएका थिए।
नेता रामहरि खतिवडाले बृहत एकताका लागि आफूहरूले अपिल गरेपछि सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी पाएको र पूर्वमहामन्त्री शशांक कोइराला पक्षबाट पनि सहमतिको प्रयास हुनुपर्ने बताए।
कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरू गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोजको १५ गतेदेखि वडा अधिवेशन गर्ने गरी बेग्लै कार्यतालिका ल्याएका छन्।