रूस-युक्रेन युद्ध सुरू भएको ४ वर्ष तीन महिना नाघेको छ।
सन् २०२२ को फेब्रुअरी महिनामा रूसले युक्रेनमाथि धावा बोलेको थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यतिबेला केही दिनमै युक्रेनले आत्मसमर्पण गर्छ भन्ने आकलनसहित आक्रमण गरेका थिए।
तर शुक्रबारसम्म युद्ध भएको १ हजार ५६९ दिन पुगिसक्दा पनि यो अन्त्य हुने लक्षण देखिएको छैन।
यो युद्धले पहिलो विश्वयुद्धलाई पनि जितेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशन गरेको छ।
१९१४ जुनदेखि सुरू भएको पहिलो विश्वयुद्ध १९१८ नोभेम्बरसम्म चार वर्ष तीन महिना र करिब दुई हप्ता चलेर अन्त्य भएको थियो।
सन् २०२२ को फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउँदा मस्कोले युक्रेनको सरकार केही दिनमै ढल्ने र राजधानी किभ छिट्टै नियन्त्रणमा आउने विश्वास गरेका थिए।
तर युक्रेनले अपेक्षा गरेको भन्दा सशक्त प्रतिरोध गर्दा प्रारम्भिक चरणमा नै युक्रेनले रुसी फौजलाई पछाडि हट्न बाध्य बनाएको थियो।
त्यसपछि युद्ध क्रमशः लम्बिँदै गएको थियो। दुवै पक्षले हजारौं सैनिक, हतियार र अथाह पैसा खर्च गरेर भए पनि युद्ध जारी राखेका छन्।
सुरुवाती वर्षहरूमा लडिरहेका सैनिकहरूले समेत यो युद्ध यति लामो खिचिन्छ भनेर अनुमान गरेका थिएनन्।
'मलाई लाग्थ्यो दुई वा तीन वर्षपछि नेताहरूले कुनै सहमति निकाल्छन्,' फ्रान्स नाम गरेका एक युक्रेनी सैनिकले न्युयोर्क टाइम्ससँग भनेका छन्।
युद्ध खिचिँदै जाँदा यसको अन्त्य कहिले हुन्छ भनेर स्पष्ट संकेत अझै देखिएको छ।
युक्रेनभित्र गरिएको सर्वेक्षणहरूले पनि युद्ध अन्त्यका सन्दर्भमा निराशाजनक तस्बिर देखिएको भनेर न्युयोर्क टाइम्सले जनाएको छ।
सर्वेक्षणले करिब आधा युक्रेनी नागरिकले युद्ध कम्तीमा अर्को वर्षसम्म जारी रहन सक्ने भनेका छन्। यदि त्यस्तो भयो भने, युद्धको अवधी दोस्रो विश्वयुद्धको अवधि नजिक पुग्नेछ।
दोस्रो विश्वयुद्ध झन्डै ६ वर्ष चलेको थियो।
धेरै युक्रेनीहरू त रूससँगको युद्ध वास्तवमा सन् २०१४ मै सुरू भएको तर्क गर्छन्। त्यतिबेला रूसले क्राइमिया कब्जा गरेको थियो। त्यसपछि पूर्वी युक्रेनमा पृथकतावादी गतिविधि समेत चर्किएको थियो।
युक्रेनी इतिहासकार यारोस्लाव ऋत्सकका पहिलो विश्वयुद्ध र अहिलेको युक्रेन युद्धबीच एउटा महत्त्वपूर्ण समानता रहेको बताउँछन्।
दुवैले युरोपको भू–राजनीति बदलिदिएका छन्। पहिलो विश्वयुद्धपछि युरोपको नक्सा र शक्ति संरचना फेरिएको थियो भने अहिले युक्रेन युद्धले पनि सैन्य गठबन्धन पुनर्गठन, रक्षा खर्चमा तीव्र वृद्धि र नयाँ सुरक्षा रणनीति जन्माइरहेको छ।
युरोपका धेरै देशहरूले दशकौंपछि पुनः ठूलो स्तरमा रक्षा बजेट बढाएका छन्।
अन्य विश्लेषकहरूका अनुसार, युद्धको स्वरूप बदल्ने नयाँ प्रविधिको प्रयोग अर्को उल्लेखनीय समानता हो। पहिलो विश्वयुद्धमा ट्यांक र लडाकू विमानको प्रयोगले युद्धको स्वरूप बदलिएको थियो। आज युक्रेनमा त्यही भूमिका ड्रोनहरूले निर्वाह गरिरहेका छन्। आकाश, जमिन र समुद्रमा सञ्चालन हुने ड्रोनहरूले युद्ध क्षेत्रलाई पूर्णतः नयाँ स्वरूप दिएका छन्।
पूर्व फ्रान्सेली कर्नेल तथा सैन्य इतिहासकार माइकल गोया पनि धेरै हिसाबले युक्रेन युद्धलाई पहिलो विश्वयुद्धसँग मिल्दोजुल्दो आधुनिक युद्ध भन्छन्।
पहिलो विश्वयुद्धमा जर्मनीले छिटो विजयको आशामा पेरिसतर्फ तीव्र आक्रमण गरेको थियो। युक्रेन युद्धमा पनि रुसले राजधानी किभ कब्जा गरी छोटो समयमै सरकार ढाल्ने योजना बनाएको थियो। तर दुवै अवस्थामा आक्रमणकारी शक्तिहरू अन्ततः पछाडि धकेलिए।
त्यसपछि युद्ध लामो समय स्थिर मोर्चामा अड्कियो।
सन् २०२२ को अन्त्यतिर युक्रेन र रुसका सैनिकहरू खाल्डाखुल्डी (ट्रेन्च) र भूमिगत बंकरमा बस्न थालेपछि धेरै इतिहासकारहरूले यसलाई ‘पहिलो विश्वयुद्ध शैलीको ट्रेन्च युद्ध’ भनेर वर्णन गरेका थिए।
कतिपय स्थानमा दुबै पक्ष केही सय मिटरको दूरीमा थिए। यति नजिक कि सैनिकहरूले एकअर्कालाई प्रत्यक्ष देख्न समेत सक्थे।
पूर्वी युक्रेनका मोर्चाहरूको दृश्य उत्तरी फ्रान्सको सय वर्षअघिको युद्धभूमिसँग मिल्ने खालको देखिन्थ्यो। आक्रमण सुरु हुनु अघि तोपबाट लगातार गोलाबारी हुन्थ्यो, त्यसपछि सैनिकहरू खाल्डोका शत्रुमाथि धावा बोल्थे। पहिलो विश्वयुद्धमा जस्तै, भारी तोपखानाको डरले सैनिकहरू भूमिगत आश्रयमा बस्न बाध्य भएका थिए।
ड्रोनको प्रवेशसँगै केही वर्षमै युद्धको स्वरूप फेरियो
खुला ट्रेन्चहरू अब सुरक्षित रहन छाडे, किनकि ड्रोनहरूले चौबीसै घन्टा युद्धक्षेत्र निगरानी गर्न थाले। कुनै गतिविधि देखिएलगत्तै हमला हुन सक्ने अवस्था बन्यो।
अब युक्रेनी सैनिकहरूका अनुसार बाँच्ने उपाय भनेको सानो र अझ गहिरो आश्रय बनाउनु हो। पहिलेका जस्ता लामो ट्रेन्च प्रणालीको सट्टा अहिले केही सैनिक मात्र अट्ने साना भूमिगत बंकर बनाइन्छन्, जसलाई आकाशबाट पत्ता लगाउन कठिन हुन्छ र विस्फोटबाट जोगिने क्षमता बढी हुन्छ।
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्ता एक युक्रेनी सैनिक कमान्ड एउटा बलियो भूमिगत संरचना कब्जा गर्न आफ्ना सैनिकहरूले चार पटकसम्म आक्रमण गर्नुपरेको बताएका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर आफ्नो प्रशिक्षण केन्द्रमा लगि त्यस्तै संरचना बनाउन लगाएको पनि उनले बताएका छन्। त्यसको बनावट के हुन्छ भनेर बुझ्नका लागि उनीहरूलाई त्यस्तै संरचना बनाउन लगाइएको उनले बताएका छन्।
ड्रोनको प्रभावले युद्धको अर्को महत्त्वपूर्ण पक्ष पनि बदलिएको छ।
पहिलेका जस्ता सयौँ सैनिकले गर्ने ठूलो आक्रमण अहिले लगभग असम्भव बनेको छ। ड्रोन निगरानीका कारण ठूलो समूह एकैपटक अघि बढ्दा तत्काल निशाना बन्न सक्छ। त्यसैले अहिले एक वा दुई सैनिकले साना समूहमा हमला गर्ने रणनीति अपनाइन्छ।
एक समय युद्धको सबैभन्दा शक्तिशाली हतियार मानिने ट्यांकहरू पनि अहिले सीमित मात्र प्रयोग भइरहेका छन्।
पहिलो विश्वयुद्धमा पहिलो पटक प्रयोग भएका ट्यांकहरू युक्रेन युद्धको सुरुवाती चरणमा प्रभावकारी देखिएका थिए। तर ठूलो आकारको हुने भएकाले ड्रोनले त्यसलाई सजिलै निशाना बनाउन सक्छ।
केही ट्यांकमा फलामे पिँजडा जस्ता संरचना जडान गरिएका छन्, जसले विस्फोटक ड्रोनबाट जोगाउन मद्दत गर्छ। यस्ता ट्यांकहरूलाई कतिपयले ‘म्याड म्याक्स शैली’ को वाहन भन्न थालेका छन्।
युद्धभूमिको स्वरूप बदलिँदै गए पनि विनाशको स्तर भने पहिलो विश्वयुद्ध सम्झाउने खालको छ।
अग्रपंक्ति नजिक युक्रेनी कमाण्ड पोस्टमा ड्रोनबाट देखिने ढलेका रूख, ध्वस्त भएका घर, विस्फोटले बनेका गहिरा खाल्डाहरू सय वर्षअघिको युरोपेली युद्धभूमिसँग मिल्दाजुल्दा देखिन्छन्।
हताहतीको तुलना भने जटिल छ।
पहिलो विश्वयुद्धमा युरोपका धेरै मोर्चामा करोडौँ सैनिक परिचालन भएका थिए र झन्डै ९० लाखदेखि १ करोड १० लाख सैनिकको मृत्यु भएको अनुमान छ।
युक्रेन युद्धमा संलग्न सैनिक संख्या तुलनात्मक रूपमा कम भए पनि हालसम्म करिब पाँच लाख मानिस मारिएको अनुमान विभिन्न अध्ययनले गरेका छन्।
रूसमा दैनिक एक हजार सेना मरिरहेको भनेर विभिन्न रिपोर्टहरू सार्वजनिक भएका छन्। यद्यपि रूसले कति सेना मारिए भनेर विवरण भने सार्वजनिक गरेको छैन।
यद्यपि सैन्य अधिकारीहरूले भने युद्धक्षेत्रको जोखिमको आधारमा विश्वयुद्धकै बराबरीमा पुगेको भनेर नेटोका उच्च अधिकारी एडमाइरल पिएर भान्दिएरले हालै युक्रेनको भ्रमणपछि टिप्पणी गरेका थिए।
युद्धमा रुसको पछिल्लो अग्रसरता समेत अपेक्षाभन्दा निकै सुस्त देखिएको छ।
पूर्वी युक्रेनको पोक्रोभ्स्क क्षेत्रमा रुसको प्रगति दैनिक औसत ७५ यार्ड मात्र रहेको एक अध्ययनले देखाएको छ, जुन पहिलो विश्वयुद्धको ब्याटल अफ द सोमका केही चरणभन्दा पनि ढिलो मानिएको छ।
सबैभन्दा ठूलो विषय यो युद्ध कसरी अन्त्य हुन्छ भन्ने हो—
पहिलो विश्वयुद्धमा मित्रराष्ट्रहरूले जर्मनीमाथि आर्थिक नाकाबन्दी र लगातार सैन्य दबाबमार्फत अन्ततः विजय हासिल गरेका थिए। युक्रेनले पनि केही हदसम्म त्यस्तै रणनीति अपनाउने प्रयास गरिरहेको छ।
युक्रेनले रुसको अर्थतन्त्रको मुख्य आधार तेल पूर्वाधारमा ड्रोन आक्रमण बढाइरहेको छ, ताकि मस्कोको युद्ध क्षमता कमजोर पार्न सकियोस्। अर्कोतर्फ, ठूलो सैन्य आक्रमण गर्ने जनशक्ति अभाव भएकाले युक्रेनले हजारौँ साना आक्रमणकारी ड्रोन प्रयोग गरेर रुसी सेनालाई दीर्घकालीन क्षति पुर्याउने रणनीति अपनाएको छ।
अर्कोतर्फ, रुसले भने आफ्नो ठूलो जनशक्ति, विशाल रक्षा उद्योग र निरन्तर क्षय रणनीतिमा भरोसा गरेको छ।
मस्कोको रणनीति मुख्यतः युक्रेनलाई लामो युद्धमा थकाउने, क्रमिक रूपमा भूभाग कब्जा गर्ने, र मिसाइल तथा ड्रोन आक्रमणमार्फत ऊर्जा पूर्वाधार, सैन्य कारखाना र आपूर्ति प्रणालीमा दबाब बनाउनेमा केन्द्रित देखिन्छ।
अग्रपंक्तिमा रुसले साना–साना तर लगातार आक्रमण, भारी तोपखाना प्रयोग र ड्रोन निगरानीको संयोजन गर्दै बिस्तारै अघि बढ्ने नीति अपनाएको विश्लेषकहरूको भनाइ छ।
साथै, रुसले आफ्नो अर्थतन्त्रलाई ‘युद्ध अर्थतन्त्र’तर्फ मोड्दै रक्षा उत्पादन उल्लेखनीय रूपमा बढाएको छ। पश्चिमी प्रतिबन्धका बाबजुद मस्कोले हतियार उत्पादन, सैनिक भर्ती र दीर्घकालीन सैन्य आपूर्ति कायम राख्ने प्रयास गरिरहेको छ।
युक्रेनले पश्चिमी सहयोगमा भर पर्नुपरेको अवस्थामा रुसले युद्ध लम्बिँदा आफ्नो औद्योगिक क्षमता र जनशक्तिको फाइदा लिन खोजेको देखिन्छ।
'यो विश्वयुद्ध हो तर ड्रोनसहितको,' इतिहासकार यारोस्लाभ ह्रित्साकले न्युयोर्क टाइम्ससँग भनेका छन्।