राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको क्यान्टिन महँगो भएको बताएका छन्।
केही दिनअघि संसद बैठक चलिरहँदा 'सांसदले चिया खान जाऔँ' भनेको अडिओ लिक भएको थियो।
'चिया खान कहाँ जाने, सभामुख महोदय', उक्त अडिओको प्रसंग निकाल्दै सांसद सुनारले बैठकमा भने, 'यो बाहिर बरण्डामा राखेको फाइभस्टार होटल कसको हो? कसले लिएर आएको हो यो होटल?'
निर्माणाधीन संसद भवन परिसरमा अहिले क्यान्टिन छैन। अस्थायी हलमा सञ्चालन भइरहेको संसद भवनको बरण्डामा अस्थायी प्रकृतिकै क्यान्टिन सञ्चालन भइरहेको छ।
प्रतिनिधि सभाको हल भएकै फ्लोरको बरण्डाको एउटा कुनामा क्यान्टिन राखिएको छ। जहाँ सांसद, मर्यादापालक र कर्मचारीहरूले खाजा खान सक्छन्।
यो क्यान्टिन काठमाडौंको चर्चित पाँच तारे सोल्टी होटलले सञ्चालन गर्छ। सोल्टी होटलले टेण्डरबाट यो क्यान्टिन सञ्चालन गर्न पाएको भने होइन।
२०८२ सालको साउनमा संसदमा क्यान्टिन सञ्चालनका लागि टेण्डर भएको थियो।
उक्त टेण्डरमा सोल्टी पनि सहभागी भएको थियो। तर टेण्डर भने ल्याण्डमार्क होटलले जित्यो। तर एक वर्ष क्यान्टिन सञ्चालन गरेपछि ल्याण्डमार्क बाहिरियो।
उक्त टेण्डरमा सहभागी भएको सोल्टी होटलले साउन १ गतेदखि संसद सचिवालय र संसद भवनमा क्यान्टिन्टको टेण्डर पायो। संसद सचिवालयका अनुसार सोल्टी होटलले ल्याण्डमार्कले उपलब्ध गराएकै मूल्यमा खानेकुरा बेच्ने सर्तमा उक्त टेण्डर पायो।
त्यसो त ल्याण्डमार्कले टेण्डर पाउने अघि हायात होटलले संसद सचिवालयको क्यान्टिन सञ्चालन गर्थ्यो। हायात बाहिरिएपछि संसद भवनको क्यान्टिनको ठेक्कामा सोल्टीले चासो देखाएको थियो।
संसदको क्यान्टिनले संसदीय समितिका बैठकहरूमा चिया खाजा र नास्ता खुवाउँछ। त्यस्तै संसद सचिवालयका कर्मचारी, सांसदहरूले त्यही क्यान्टिनमा खाजा खान्छन्।
सिंहदरबारमै रहेको सोही क्यान्टिनबाट निर्माणाधीन संसद भवनको बरण्डामा बैठक सञ्चालन हुने दिन खानेकुरा लगिन्छ।
यही खानेकुराको मूल्यलाई लिएर सांसद खगेन्द्र सुनारले बैठकमा प्रश्न उठाएका हुन्।
'कालो चियाको एक सय रुपैयाँ, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय,' सांसद सुनारले बैठकमा भने, 'पाउरोटीको पाँच सय रुपैँया तिरेर खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन्?'
उनले संसद सचिवालयभित्र काम गरिरहेका कर्मचारीहरू मर्यादापालकहरूले उक्त क्यान्टिनमा पानी समेत खान पाउने अवस्था नरहेको बताए।
'तत्काल यो फाइभ स्टार होटल संसदको बरण्डाबाट बाहिर निकाल्नुपर्छ,' सुनारले भने, 'सिंहदरबारभित्र यति धेरै क्यान्टिन चलाउन पाइँदैन। सुन्धारामा भन्दा धेरै होटलहरू भए। तत्काल यो कुरालाई नियन्त्रण गर्नुपर्छ। नेपालगञ्जमा, वीरगञ्ज र दैलेखको बजारमा चियाको जति पर्छ यहाँ त्यतिमा बिक्री हुनुपर्छ। मनपरी पैसा असुल्न पाइँदैन।'
यद्यपी संसद भवनको बरण्डामा क्यान्टिनमा सांसद सुनारले भनेजस्तो मूल्य भने पर्दैन।
सुनारले सय रुपैयाँ उल्लेख गरेको कालो चियाको मूल्य २५ रुपैयाँ पर्छ।
सुनारले दुई सय रुपैयाँ पर्छ भनेर उल्लेख गरेको दूध चियाको मूल्य ६० रुपैयाँ पर्छ। सांसद सुनारले ममको मूल्य ३ सय पर्छ भनेका छन्। तर मेनु अनुसार चिकेन म:मको मूल्य २ सय छ। भेज म:म क्यान्टिनमा पाइँदैन।
चाउनमिनको मूल्य सांसद सुनारले ४ सय पर्ने उल्लेख गरेका छन्। तर मेनु अनुसार भेज चाउमिनको मूल्य १ सय ५० र नन भेज चाउनमिनको मूल्य २ सय रुपैयाँ छ।
संसदको क्यान्टिनमा प्रत्येक दिन एउटा विशेष परिकार पनि तयार हुन्छ। सांसद सुनारले संसदमा मूल्यबारे प्रश्न उठाएको दिन सोमबार सेल रोटी सेट खाजामा उपलब्ध थियो। जसको मूल्य १ सय ६० रुपैयाँ राखिएको छ। त्यस्तै आलु, जिरा र रोटी सेटको १ सय ५० रुपैयाँ मूल्य छ।
सोल्टी होटलले संसदको बरण्डामा अर्को एउटा क्याफे पनि थपेको छ। जसमा बेकरी आइटम र रोस्टेड कफी बिनबाट मेसिनमार्फत् कफी बनाइन्छ।
अमेरिकानो सिंगल सटको मूल्य एक सय रुपैयाँ छ। डलब सटको मूल्य १ सय ५० रुपैयाँ पर्छ।
त्यस्तै क्यापेचिनोको मूल्य एक सय पचास र मिल्कसेकको मूल्य एक सय छ। एस्प्रेसो कफी सिंगल सट १ सय र डबल सटको मूल्य १ सय ५० छ।
यहाँ सोल्टीले केही केक आइटम पनि राखेको छ।
फ्रुट्स, नट्स मिक्स भएको कप केकको मूल्य २ सय २० रुपैयाँ छ। त्यस्तै स्वीडिस सिनेमन स्पाइरल रोलको मूल्य २ सय ९० छ।
क्रिस्पी लेयर क्रोसेन्टको मूल्य पनि २ सय ९० पर्छ। चिकेन र अण्डा सहित काट्टी रोलको मूल्य ३ सय ९० पर्छ। च्याउ हालिएको काट्टी रोलको मूल्य ३ सय ५० रुपैयाँ पर्छ। डबल ग्रिल्ड स्याण्डविचको मूल्य ३ सय ५० रुपैयाँ छ।