विपक्ष श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नै राजस्वबाट मुलुक चलाउने योजना हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभामा शुक्रबार बजेटमाथिको छलफलमा बोल्दै सांसद राईले आफ्नै राजस्वबाट देश चलाउने उपायको खोजी गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।
उनले संवैधानिक आयोगको बजेट घटाउने काम गरेको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि पनि व्यक्त गरे।
'हिजो वैदेशिक ऋण यति भयो, उति भयो भनेर आलोचना गर्ने। त्यस विषयमा ठूल्ठुला सभा, सम्मेलनमा कराउनेहरु अहिले हामी नयाँ भन्नेहरु पनि छौ। ऋण लिएर ऋण तिरिरहेका छौं। अब यसका लागि आम नेपाली जनताले के गर्नुपर्ने? देशकै राजस्वबाट देश चलाउनका लागि हामीले के गर्नुपर्ने ? हामी सांसदले के गर्नुपर्ने र सिंगो देशबासीले के गर्नुपर्ने हो? अर्थमन्त्रीले भनिदिनुपर्यो। यसको भावी योजना के छ, अहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौ? यस विषयमा गम्भिर हुनु पर्दछ,’ उनले भने।
सांसद राईले सामाजिक रुपमा पनि सबै समुदायलाई माथि उठाउनका लागि राज्यले लगानी बढाउनुपर्नेमा उल्टो घटाएको पनि आरोप लगाए।
'आदिवासी जनजाति आयोगमा पनि बजेट घटेको भन्ने छ। अन्य आयोगहरुमा पनि समस्या यस्तै होला। यो आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनेको होइन। यो पुस्तौपुस्तादेखि पछाडि पारिएका समूदायलाई सामाजिक रुपमा माथि उठाउन यो आयोगहरु बनेको हो। र यसमा पहिलोको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ बढाउनु पर्दथ्यो,' उनले भने। –न्युज एजेन्सी नेपाल