प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन्।
सांसद कँडेलले उक्त आयोजनाबारे बजेटमा वित्तीय व्यवस्थापनको कुनै खाका समेत नआएको भन्दै आपत्ति समेत जनाए।
कृषि क्षेत्रलाई शिर्ष प्राथमिकता दिएको बजेटमा उल्लेख गरिए पनि सोही अनुसारको बजेटको व्यवस्थापन नभएको सांसद कडेलको गुनासो थियो।
‘बुढी गण्डकीको बारेमा मैले पटक पटक भनिराखेको छु। फेरि पनि म के उठाउँछु भने प्राधिकरण मोडलमा लैजाने भनिएको छ बजेटमा। यो चाहीँ फुटबललाई हानेको जस्तो कहिले प्राधिकरणबाट समितिमा लैजाने, कहिले समितिबाट प्राधिकरणमा लैजाने। तर त्यसको वित्तिय खाका के हो ? र कसरी जान्छ ? भन्ने कुरा यसमा कुनै प्रष्ट हिसावले आएको छैन। खाली पन्छयाउन खोजेको मात्रै मैले देख्छु। एउटा यो पूँजीगत खर्च नहुने एउटा अवस्था हाम्रो रहेको छ। तर पूँजीगत खर्च कसरी बढाउने भन्ने कुरा समग्र बजेट वक्तव्यमा पनि आएको छैन। र यो विनियोजन विधेयकमा पनि आएन,' उनले भने। –न्युज एजेन्सी नेपाल