राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन शनिबार (भोलि) दाङको घोराहीमा हुने भएको छ।
रास्वपा दाङका अध्यक्ष किरण खनालले घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान ९ बजेपछि अधिवेशन सुरू हुने बताए।
अध्यक्ष खनालका हालसम्म अनुसार ७ जना आकांक्षी देखिएका छन्।
रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य देवराज पाठकले पनि हालसम्म ७ जना आकांक्षी देखिएको बताए।
‘हालसम्म सात जनाले अध्यक्ष पदका लागि सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेको अवस्था छ,’ उनले भने, ‘तर, ती उम्मेदवारी घोषणा ग्रुप वा समूहगत होइन एक्ला एक्लै गरिएका घोषणा छन्।’
उनले रास्वपा लुम्बिनीमा गुट वा ग्रुप नरहेको दाबी गरे।
प्रदेश अध्यक्ष पाठकका अनुसार प्रदेश अधिवेशनका लागि घोराहीमा लुम्बिनीका १२ जिल्लाका करिब ७ सय ३० जति प्रतिनिधिहरू आउने छन्।
यी हुन ७ जना आकांक्षीहरू:
१ – देवराज पाठक – प्रदेश अध्यक्ष तथा दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद – दाङ
२– शालिकराम घिमिरे – प्रदेश उपसभापति – बुटवल
३– डा. राजकुमार सुबेदी – प्रदेश प्रशिक्षण बिभाग प्रमुख – बाँके
४– गणेश पौडेल – केन्द्रीय मानव अधिकार विभाग सदस्य – बुटवल
५– मञ्जु भुसाल – समानुपातिक सांसद – बुटवल
६– मधु अर्याल – रूपेन्देही – ३ का क्षेत्रीय सभापति – बुटवल तथा भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार
७– गोपाल घिमिरे – केन्द्रीय संगठन विभाग सदस्य ।
हालका प्रदेश अध्यक्ष पाठकले आफूले सर्वसम्मत नेतृत्व चयनको चाहना राखेको भए पनि त्यसो हुने छाँट नदेखिएपछि आफू पनि फेरि एक पटक प्रदेश अध्यक्षका लागि लड्ने सोचमा पुगेको बताए।
‘सर्वसम्मत नेतृत्व चयन गरौं भन्ने मरो चाहना हो,’ उनले भने ‘ सर्वसम्मत भए पनि, निर्वाचन भए पनि अब म पनि निर्वाचनमा होमिनु पर्ने अवस्था आयो।’