दाङको घोराही उपमहानगरपालिका–८ को वडा कार्यालयमा मंगलबार अलग उल्लास थियो। कतिपय गाउँका स्थानीय गाडी नै रिजर्भ गरेर वडा कार्यालय पुगेका थिए। ठूलो संख्यामा भेला भएका स्थानीयले नाचगान समेत गरेका थिए।
वडाध्यक्ष जितेन्द्रबहादुर शाहलाई उनीहरूले आफैले बुनेर ल्याएको दुबोको माला लगाइदिए। पुष्पगुच्छा र खादा-मालाले उनको गला भरियो।
त्यसपछि उनी कार्यकक्ष प्रवेश गरे। कुर्सीमा बसिसक्दा पनि वडाध्यक्षलाई सम्मान ग्रहण गर्न भ्याइनभ्याइ नै थियो। पुष्पगुच्छा र खादा लिएर कार्यकक्ष प्रवेश गर्नेको भीड नै थियो। केहीबेरमै उनको टेबलमा फूलमाला र खादाको उरूङ देखियो।
वडाध्यक्ष शाहलाई मंगलबार त्यसरी स्थानीयले हर्षोल्लासका साथ स्वागत गर्नुको एउटै कारण थियो। उनी १० महिनापछि फेरि सोही पदमा पुनर्बंहाली भई आएका थिए।
सेलिब्रेटी तर विवादित छविका वडाध्यक्ष शाह २०८२ भदौ २ गते पदमुक्त गरिएका थिए।
कार्यपालिका बैठकले नै निर्णय गरेको हुँदा उनलाई पदमुक्त गरिएको मेयर नरुलाल चौधरीले बताएका थिए।
त्यसको ठिक १० महिनापछि असार २ गते उनी पुनः कार्यालय फर्किएका हुन्। २०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए।
त्यसपूर्व उनी १६ वर्षसम्म सोनापुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी थिए।
मेयर चौधरी पनि लगातार दोस्रो कार्यकालका लागि एमालेबाटै निर्वाचित भएका व्यक्ति हुन्। वडाध्यक्ष शाह र मेयर चौधरी एउटै पार्टीको भए पनि उनीहरूबीच मतैक्य थिएन।
शाहले आफ्नो वडामा कम बजेट दिएको तथा भेदभाव गरिएको भन्दै असन्तुष्टि जनाउँदै मेयर चौधरीको विरोध गरेका थिए। त्यति मात्रै होइन, वडाध्यक्ष शाहले २०८० असार ११ गते कार्यपालिका बैठक र नरुलाल चौधरीसमक्ष राजीनामा दिएको सार्वजनिक भएको थियो।
वडाध्यक्ष शाहको त्यो राजीनामा दुई वर्षपछि अर्थात् २०८२ भदौ २ गते कार्यपालिका बैठकले स्वीकृत गरेसँगै उनी पदमुक्त भएको जानकारी दिइएको थियो।
शाहको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा एमालेबाटै निर्वाचित वडा सदस्य चुडामणि चौधरीलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकिएको थियो।
त्यसपछि वडाध्यक्ष शाह कार्यालय गएनन्।
बरू उनी आफूमाथि अन्याय भएको भन्दै मुद्दा लिएर अदालत पुगे। उनको सोही मुद्दामाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरले जेठ २७ गते शाहलाई वडाध्यक्ष पदमै पुनर्बंहाली गर्न आदेश दिएको थियो।
न्यायाधीश दुर्गाबहादुर विक र यज्ञबहादुर रानामगरको संयुक्त इजलासले कार्यपालिका बैठकले स्वीकृत गरेको वडाध्यक्ष शाहको राजीनामा बदर गर्दै वडाध्यक्ष शाहको पद पुनर्बंहाली गरेको अदालतका रजिस्ट्रार यमप्रसाद बाँस्कोटाले बताए।
२७ गते फैसला भए पनि दोस्रो दिन सो फैसलाको निर्णय उनले घोराही उपमहानगरपालिकामा पेस गरेका थिए।
त्यसपछि लगातार परेको बिदाका कारण उनी मंगलबार मात्रै कार्यालय फर्किएका हुन्।
वडाध्यक्ष शाह भने आफूले त्यतिबेला राजीनामा नै नदिएको दाबी गर्छन्।
‘मैले थप बजेट माग्दा गरेको हस्ताक्षरलाई नक्कली हस्ताक्षर गरी जालसाजीपूर्वक त्यही फोटोकपी कार्यपालिकामा पेस गरी मैले राजीनामा दिएको भनेर अन्यायपूर्वक स्वीकृत गराएका थिए,’ शाहले भने, ‘आफूमाथि भएको सोही जालसाजी र अन्यायविरूद्ध म अदालत गएको थिएँ। मलाई अदालतले न्याय दिएको छ। फेरि जनताको काममा फर्किन पाउँदा म खुसी छु।’
कार्यपालिकाको बैठकले उनको राजीनामा स्वीकृत भएको तथा पद गुमाउनु परेको चर्चासँगै वडाध्यक्ष शाह घोराहीका मेयर चौधरी लगायतका विरुद्ध थप आक्रामक गतिविधि सञ्चालन गरेका थिए।
उनी कहिले घोराहीका १९ वटै वडामा भइरहेको विकास निर्माणका कामको विरोध गर्थे भने कहिले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरूद्ध खरो उत्रन्थे।
शाहका यस्ता गतिविधिमा आम सर्वसाधारण नागरिकको भने साथ, समर्थन र रूचि कायमै रहन्थ्यो। शाहलाई स्थानीयले रूचाउनुको कारण उनी किसानका खेतबारीमा पानी सिँचित गर्ने डिपबोरिङहरूको विद्युत् महसुल निःशुल्क गरिदिएका थिए।
वडाबासीका लागि बिरामीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका थिए। अब पुनर्बंहाली भएर आएपछि एकाबिहानै गाउँघरबाट उत्पादित दूध–दही र सागसब्जी लगेर टाढा घोराही बजार पुग्ने किसानको सजिलोका लागि वडा कार्यालयले निःशुल्क ढुवानीको व्यवस्था गर्ने वडाध्यक्ष शाहले बताए।
त्यसका लागि वडाध्यक्षको आफ्नै गाडी नभएको हुँदा भाडामा गाडी लिएर बिहान उत्पादन बजार लैजाने किसानको हितका लागि काम गर्ने उनले बताए।
वडाध्यक्ष शाहले आफ्नो वडाका सामुदायिक विद्यालयमा अध्ययनरत् बालबालिकालाई निःशुल्क कलम र कापी प्रदान गर्दै आएका थिए।
त्यो रोकिएको हुँदा फेरि त्यसलाई पनि निरन्तरता दिने उनले विश्वास दिलाए। कतै बाटो बिग्रियो वा कुनै समस्या परेको खण्डमा उनी रातबिरात नभनी आफ्नै खर्चमा पनि जनताको सेवामा जुट्थे। उनको सबैभन्दा सकारात्मक पक्ष त्यही थियो।
तर, आफूलाई मागेको जति विकास बजेट वडामा दिनुपर्छ भन्ने अडान लिनु तथा आफूमाथि भेदभाव तथा दुर्व्यवहार गरेको जस्ता आरोप उनी मेयर चौधरीमाथि लगाउँथे।
यस्तै कुराको विवाद तथा आपसी टकरावका कारण निर्वाचित भएको वर्षदिन नपुग्दै शाहले मेयर चौधरीको कार्यशैलीको विरोध गर्दै पटक–पटक पदबाट राजीनामा दिएको तथा एमाले परित्याग गरेको जस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए।
मेयर चौधरीका अनुसार शाहले २०८० असार ११ गतेभन्दा पहिला बुझाएको राजीनामा पत्र एक पटक आफैले फिर्ता लिएका थिए। सामाजिक सञ्जालमा विभिन्न विषयमा स्टाटस लेख्दै गएपछि एमालेले पार्टी नीतिविपरीत कार्य गरेको भन्दै २०८१ माघमा वडाध्यक्ष शाहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो।
त्यसपछि आफैँ निर्वाचित भएको पार्टी त्यागेको घोषणा वडाध्यक्ष शाहले गरेका थिए। सेतोपाटीसँगको फोन संवादमा उनले आफू बचनको पक्का भएको भन्दै अब एमाले नफर्किने बताए। साथै उनले अबको १० वर्षसम्म कुनै पनि पार्टीमा प्रवेश नगरी स्वतन्त्र रूपमा जनताको सेवा गर्ने बताए।
‘अब म सबैसँग मिलेर काम गर्छु र सबैलाई मिलाएर लैजान्छु,’ उनले भने, ‘मलाई राजनीति गर्नु छैन, बरू मेरो वडाको के गरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् म त्यसैमा ध्यान केन्द्रित गर्नेछु।’
वडाध्यक्ष शाहले विगतमा आफूलाई २०८४ मा मेयरको प्रमुख आकांक्षीका रूपमा प्रस्तुत गर्दै आएका छन्। त्यो विषयमा उनले परिस्थिति हेरी अगाडि बढ्ने निर्णय गरे। तर, उनले आफू फेरि दोहोरिएर एकै पदमा कहिल्यै नबसेको हुँदा फेरि वडाध्यक्षको उम्मेदवार भने नबन्ने आफ्नो निर्णय सुनाए।
‘म युवा संघको अध्यक्षमा पनि दोहोरिइनँ, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पनि दोहोरिइनँ र अब वडाध्यक्षमा पनि दोहोरिन्नँ,’ उनले भने, ‘थप कुरा आगामी स्थानीय तहको निर्वाचन घोषणा भएपछि सबै जनताको राय–सुझाव लिएर मात्रै थप निर्णय गर्नेछु।’