प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कक्षा १२ को नतिजा सार्वजनिकको विषयलाई लिएर सरकारलाई 'ओभरस्मार्ट' नबन्न सचेत गराएकी हुन्।
‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ। रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्याङ्कन हुने व्यवस्था मिलाइयोस्। सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरीने गरेर सरकार ओभर स्मार्ट बन्न नलागोस्,’ उनले भनिन्।
उनले कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।
राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको उनको भनाइ थियो।
सरकारले करिव ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनले बताइन्।
सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरे। उनले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सिमित हुन नहुनेमा जोड दिइन्।