प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा नियुक्त भएकाहरूलाई विज्ञको भूमिकाबाट हटाएर संयोजक र उपसंयोजक भूमिकामा सीमित पारिदिएका छन्।
प्रधानमन्त्रीको स्वकीय सहसचिव (विकास परियोजना) जिम्मेवारी पाएका इन्जिनियर सञ्जिब पाण्डे विकास तथा मन्त्रालयगत समन्वय संयोजक भएका छन्।
त्यस्तै स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दीपा दाहाल पनि मिडिया व्यवस्थापन संयोजकको भूमिकामा समेटिएकी छिन्। उनको अनुसन्धान विज्ञ भन्ने भूमिका हटाइएको छ।
सामाजिक विकास विज्ञको पदमा रहेका विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ भने कार्यक्रम तथा भ्रमण संयोजक भनिएका सन्तोष गिरीलाई अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी दिइएको हो।
यसअघि प्रधानमन्त्री शाहले स्वकीय उपसचिवमा नियुक्ति दिएकाहरूलाई उपसंयोजक बनाएका छन्।
स्वकीय उपसचिवका रूपमा रहेकी प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजकको जिम्मेवारी दिइएको छ। नागरिक उड्ययन सहायक विज्ञ रहेका सुमन गौतमलाई नारिक उड्ययन समन्वय उपसंयोजकको जिम्मेवारी तोकिएको छ।
प्रधानमन्त्रीको भाषा तथा मस्यौदासम्बन्धी सहायक विज्ञको भूमिका पाएका रविकिरण अधिकारी सामाजिक विकास समन्वय उपसंयोजक भएका छन्।
प्रधानमन्त्रीको सचिवालयमा विज्ञ भनेर राखिएका व्यक्तिका कारण विभिन्न मन्त्रालयमा हुने छलफलमा उनीहरूको विज्ञताको विषयलाई लिएर प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री शाहले उनीहरूको भूमिका परिवर्तन गरिदिएका हुन्।
'विज्ञ भनेर नियुक्त पाएकाहरूको विज्ञतामा प्रश्न उठ्न थालेपछि प्रधानमन्त्रीले संयोजनको भूमिकामा सीमित गरिदिनुभएको हो', प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले सेतोपाटीसँग भन्यो, 'उहाँहरूको काम खासै हेरफेर भएको छैन तर पद अनुसारको भूमिका नभएपछि परिवर्तन भएको हो।'
प्रधानमन्त्रीको सल्लाहकार भूमिकामा नियुक्त पाएकाहरूको भने जिम्मेवारी यथावत् छ।