१८ वर्ष भन्दा मुनिका बालबालिकालाई सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पत्राचार गरेको छ।
आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गर्दै असार १५ गते आयोगबाट पार्टीलाई पत्राचार गरिएको जनाउँदै बिहीबार प्रेस नोट जारी गरेका छन्।
१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता दिएको भन्नेबारे सूचना र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै आयोगले त्यसबारे जानकारी माग गरेको हो।
‘बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको छ,’ आयोगले रास्वपालाई पठाएको पत्रमा भनिएको छ।
असार ७ गतेदेखि चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनमा रास्वपाले प्रचलित कानुन विपरित ३५ हजारभन्दा बढी बालबालिकालाई दलको सदस्यता वितरण गरेको खुलेको हो।
पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदन अनुसार रास्वपाले १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको हो।
यो रास्वपाको कुल पार्टी सदस्य संख्याको ६.७ प्रतिशत हुन आउँछ।
राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा '१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने' व्यवस्था छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ उपदफा ७ मा कुनै पनि बालबालिकालाई सशस्त्र द्वन्द्व वा राजनीतिक उद्देश्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गर्न पाइने छैन भनेको छ।
'कुनै पनि बालबालिकालाई सेना, प्रहरी र सशस्त्र समूहमा भर्ना गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सशस्त्र द्वन्द वा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पाइने छैन,' उक्त ऐनमा भनिएको छ।
यो पनि: